काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण ढंगले प्रदर्शन गर्नेमाथि सरकारले धरपकड गरेको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले शान्तिपूर्ण ढंगले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने मौलिक हक विपरीत काठमाडौंमा सरकारले धरपकड गरेको बताएका हुन्।
लिङ्देनले लेखेका छन्,‘ शान्तिपूर्ण ढङ्गले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरीत आज काठमाडौँमा भइरहेको धरपकड र नजरबन्द जस्ता घट्नाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम हुन्। धरपकड र कुनै पनि प्रकारको दमनले समस्याको समाधान निस्कँदैन। सरकारले आफूलाई तत्काल सच्याओस् ।’लिङ्देनले धरपकड गरी कुनै पनि समस्याको समाधान ननिस्किने भएकाले सरकारले आफूलाई सच्याउनुपर्ने बताएका छन्।
काठमाडौंको तीनकुनेमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले आन्दोलन गर्ने बताएको थियो। तर आन्दोलन गर्न उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग अनुमति लिएका छैनन्।
उनलाई प्रशासन कार्यालयले काठमाडौंको बल्खुमा प्रदर्शन गर्न अनुमति लिए दिने बताएको छ।

प्रतिक्रिया दिनुहोस्