एजेन्सी\ प्यालेस्टाइनको अतिवादी समूह हमास र इसराइलबीच ४८ दिनपछि युद्धविराम भएको छ। एसोसियट प्रेसका अनुसार गजामा स्थानीय समयअनुसार आज बिहान ७ बजेदेखि युद्धविराम भएको हो। हमासले बन्दी मुक्त गर्ने र इसराइलले गजामा चार दिन युद्धविराम गर्ने सहमतिलाई इसराइली सरकारले मंगलबार अनुमोदन गरेको थियो।
इसराइली सरकारले उक्त सहमति अनुमोदन गरेको तीन दिनपछि शुक्रबार बिहानदेखि गजामा युद्धविराम भएको हो। हमासले इसरायलबाट बन्धक बनाएर गजा पुर्याएको इसरायली र अन्य २६ मुलुकका गरी २३९ जनामध्ये पहिलो चरणमा ५० जना बन्दीलाई मुक्त गर्ने सहमति भएको थियो।
बदलामा इसराइलले गजामा आक्रमण नगर्ने र इसराइली जेलमा रहेका १५० जना कैदीलाई रिहा गर्ने सहमति भएको थियो। एपीका अनुसार सहमति भएबमोजिम शुक्रबार दिउँसो हमासले १३ जना इसराइली बन्धकलाई मुक्त गरेको छ।
इसराइलले पनि ३९ जना प्यालेस्टाइनी कैदीबन्दी रिहा गरेको छ। रिहा हुनेमा २४ जना महिला र १५ जना किशोरकिशोरी रहेको एपीले उल्लेख गरेको छ। उनीहरूमध्ये केही इसराइली सैनिकहरूमाथि आक्रमण र हत्याको प्रयास गरेको अभियोगमा र केही सामान्य ढुंगामुढा गरेको आरोपमा सजाय काटिरहेका थिए।
िथाइल्यान्डका प्रधानमन्त्री स्रेथा थाविसिनले १२ जना थाइ नागरिक रिहा भएको बताएका छन् । ुविदेश मन्त्रालय र सुरक्षा निकायले १२ थाइ बन्धकहरू रिहा भइसकेको पुष्टि गरेका छन्। दूतावासका अधिकारीहरू उहाँहरूलाई लिन जाँदै हुनुहुन्छ। उहाँहरूको परिचय भने खुलिसकेको छैन,ु प्रधानमन्त्री थाविसिनले एक्स ९ट्विटर० मा लेखेका छन्। इसराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको सचिवालयले पनि हमासले १३ बन्धक रिहा गरेको जनाएको सिएनएनले उल्लेख गरेको छ।
रिहा भएका बन्दीहरूलाई रेडक्रसको जिम्मा लगाइएको छ। शुक्रबार गजा क्षेत्रमा बन्दुक र हवाइ हमलाका आवाज नसुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। हमासले प्रत्येक दिन कम्तीमा १० जना बन्धकहरू रिहा गर्ने र प्रत्येक रिहाइमा इसराइलले गजामा थप एकदिन युद्धविराम गर्ने सहमति भएको छ।
इसराइली सरकारले हमासले गजामा लगेको सबै बन्धकहरूलाई रिहा गर्ने विश्वास व्यक्त गरेको छ। उसले युद्धविरामका लागि पनि बन्धकहरूलाई रिहा गर्ने इसराइली प्रधानमन्त्री नेतन्याहुले बताएका थिए।
प्रतिक्रिया दिनुहोस्