Ads

बढ्दो चिसोले भुकम्प पिडीतको दैनिकी थप कष्टकर


जाजरकोट\ बढ्दो चिसोका कारण जाजरकोट भुकम्प पिडीतहरुको दैनिकी कष्टकर बनेको छ । पर्याप्त न्यानो कपडा, सुरक्षित वासस्थान र पोषिलो खानाको अभावका कारण जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुको दैनिकी थप कष्टकर बनेको हो । भूकम्प गएको झण्डै एक महिना हुन लाग्दा समेत प्रभावित क्षेत्रमा अस्थायी आवासको निर्माण हुन सकेको छैन।

गएको कात्तिक १७ गते भूकम्प गएपछि प्रभावितहरु त्रिपालमुनि बस्दै आएका छन् । उनीहरुलाई रुघाखोकी, ज्वरो, दम बढ्ने र पखला लाग्नेलगायतका समस्या देखिन थालेको छ । चिसो बढ्न थालेसँगै दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिका र सुत्केरीलाई चिसोबाट जोगाउन मुस्किल पर्न थालेको छ ।

प्रभावित क्षेत्रमा पहिलो चरण अन्तरगतको राहत वितरण सकिएको जिल्ला प्रशासन कार्यालय जाजरकोट र रुकुम पश्चिमले जनाएका छन् । यस्तै, अस्थायी आवास बनाउनका लागि पनि तयारी थालिएको जिल्ला प्रशासन कार्यालयको दाबी छ ।

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माका अनुसार अस्थायी आवासको निर्माणका लागि लाभग्राहीलाई रकम पठाउने तयारी भएको छ । अस्थायी अवासका लागि प्रभावितले पहिलो चरणमा २५ हजार रुपैयाँ पाउने छन् भने त्यसपछि थप २५ हजार रुपैयाँ पाउने छन् । स्थानीय सरकारले सिफारिस गरेर स्थानीय विपद् व्यवस्थापन समितिले अनुमोदन गरेपछि भूकम्प प्रभावितले अस्थायी आवासका लागि रकम पाउने छन् ।

Ads

सम्बन्धित पोष्टहरू