Ads

स्विकृति नलिएको भन्दै अस्पताल भवन बन्न सकेन


सुर्खेत । जिल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेको चिङ्गगाड गाउँपालिकामा निर्माण गर्न लागिएको १५ शय्याको अस्पताल अलपत्र परेको छ । गाउँपालिकाले स्वीकृति नलिएरै सरकारी जग्गामा आफूखुसी अस्पताल भवन बनाउन लागेको उजुरी परेपछि तीन वर्षदेखि निर्माण कार्य अलपत्र परेको हो । आधारभूत स्वास्थ्य अधिकारबाट नागरिक वञ्चित नहुन भन्ने उद्देश्यले संघीय सरकारले २०७७ मङ्सिर १५ गते दुई वर्ष भित्रै निर्माण सम्पन्न गर्ने गरी अस्पताल भवन निर्माणका लागि १८ करोड ६ लाख ८२ हजार रुपैयाँ विनियोजन गरेको थियो ।

सरकारले पहिलो चरणमा पठाएको १ करोड रुपैयाँले चिङ्गगाड गाउँपालिकाको पोखरा डाँडामा आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरियो । गाउँपालिका कार्यालयले उक्त एक करोड मध्ये १५ लाखमा डीपीआर र ८५ लाखमा २०७८ असार २५ गते अस्पताल भवन निर्माणका लागि बाँकेको गाल्वा ओली जेबीसँग सम्झौता गर्‍यो ।

भवन निर्माण कार्य शुरु भएको ६ महिना नपुग्दै संघ सरकारले नै पहिले जग्गा अस्पतालको नाममा लिएर मात्र भवन निर्माण कार्य अघि बढाउन भनेपछि काम रोकिएको गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसीले बताए । उनले आफु निर्वाचित नहुँदै अघिल्लो कार्यकालका अध्यक्ष ज्यूले अस्पतालका लागि जग्गा लिने प्रक्रियामा ध्यान नदिँदा निर्माणमा ढिलाइ भएको बताएका छन् । उनका अनुसार आफु निर्वाचित भएपछि अस्पताल भवनको जग्गा अस्पतालकै नाममा लिएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन अनुसार अहिले काम अगाडि बढाइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू