Ads

अरु रिहा हुँदा किन छुट्दैनन् विपिन जोशी ?


काठमाडौं । इजरायल र हमासबीच भएको युद्ध विरामका क्रममा विभिन्न देशका नागरिकहरु रिहा भएका छन् । बन्धक बनाईएका विभिन्न देशका नागरिकहरु रिहा भई रहँदा पनि नेपाली युवा विपिन जोशी रिहा हुन सकेका छैनन् ।
युद्ध विरामको २ दिनमा हमासले २६ इजरायली, १४ थाई र एक जना फिलिपिनो बन्धकलाई मुक्त गरिसकेको छ भने इजरायलले पनि त्यसको बदलामा ७८ प्यालेष्टिनीलाई रिहा गरिसकेको छ । तर किन नेपाली युवा विपिन रिहा हुँदैनन् ? नेपालको कुटनीतिक प्रयास र क्षमता माथिनै प्रश्न उठेको छ ।

तेल अबिबस्थित नेपाली दुतावासले विपिन पनि रिहा हुने आशा व्यक्त गरेपनि निश्चित रुपमा केही भन्न सकेको छैन । इजरायल हमासबीच भएको सहमतिका आधारमा हेर्ने हो भने बन्धक रिहाइमा महिला र बालबालिकालाई प्राथमिकता दिइएको देखिन्छ ।

हमासले अहिलेसम्म रिहा गरेका १४ थाई र एक फिलिपिनो नागरिक भने इजरायल हमास सम्झौता अन्तर्गत नभई ती देशका सरकारले हमाससँग गरेको पृथक सहमतिअन्तर्गत रिहा भएका हुन् ।

आफ्ना नागरिक रिहाइका लागि थाइल्याण्ड सरकारले कतार, इजिप्ट, इरान र मलेसियासम्मको सहयोग लिएको थियो । नेपालले पनि हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि कतार र इजिप्टमा रहेका नेपाली दूतावास र संयुक्त राष्ट्रसंघस्थित नेपाली कुटनीतिक संयन्त्रको समेत प्रयोग गर्नु पर्ने आवश्यकता देखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदले केही दिनअघि मात्रै काठमाडौं आएका कतारका विदेश राज्यमन्त्रीसँग हमासले रिहा गर्ने ५० जनाभित्रै विपिनलाई पार्न विशेष आग्रह गरेका थिए तर नेपालको कूटनीतिक पहल पर्याप्त नभएको भन्दै प्रश्न उठि रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू