दमक\ नेपाली कांग्रेस पुराना नेता पूर्णानन्द शर्मा दाहाल (पिएन सर) को निधन भएको छ । तेह्रथुमबाट झापा झरेका दाहाल प्रजातन्त्र स्थापनाको आन्दोलनमा कुशल नेतृत्वका रुपमा स्थापित थिए । २०४२ सालमा कांग्रेस झापाका जिल्ला सभापति बनेका नेता शर्माको ८८ बर्षको उमेरमा सोमबार अपरान्ह साढे ४ बजे उपचारका क्रममा निधन भएको हो ।
विभिन्न रोगबाट पीडित शर्मालाई पछिल्लो समय प्रोस्टेड बढेर स्वास्थ्यस्थिती जटिल बनेको थियो । केही बर्ष अघि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गरेर फर्किएका शर्मा त्यसयता भने ओेछ्यान परेका थिए ।
ओछयान परेका नेता शर्माको स्वास्थ्यमा सुधार नआएपछि करिब एक साता अघिदेखि चिकित्सकहरुको निगरानीमा निरन्तर अस्पतालमै राखिएको थियो । निम्स हस्पिटल दमकबाट उनको थप उपचारका लागि विर्तासिटी अस्पताल विर्तामोड लगिएको थियो । सो अस्पतालले नेता शर्माको उपचार निशुल्क गर्दै आएको थियो ।
झापाको कमल गाउँपालिका– ५ मंगलवारेका स्थायीबासिन्दा नेता शर्मा लोकतन्त्र प्राप्तिका सबै आन्दोलनमा नेतृत्वदायी भुमिकामा थिए । तिक्ष्ण बैचारिक क्षमता भएका शर्मा व्यवस्था परिवर्तनका लागि भएका आन्दोलनहरुमा पटक पटक गिरफ्तारीमा परेर जेल जिवन बिताएका नेता हुन । उनी कांग्रेसको तर्फबाट झापामा संसदीय निर्वाचनमा सशक्त उम्मेदवारका रुपमा समेत प्रस्तुत भएका थिए । तीन वर्ष अघि आफनी जीवनसंगीनि गुमाएका दिवंगत दाहालका तीन छोराहरु विनोद ,प्रमोद ,आमोद र एक छोरी प्रमिला छन् ।
उनले पार्टीसंगै स्थानीय सामाजिक संघसंस्थाहरुमा समेत योगदान पुरयाँउदै आएका थिए । दमक बहुमुखी क्याम्पसको स्थापनामा समेत योगदान दिएका उनी कमल ५ स्थित मंगलमय माविको व्यवस्थापन समिति अध्यक्ष समेत भएका थिए । स्वर्गीय दाहालको मंगलबार कन्काई मुक्तिघाटमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ । बिहान ११ बजे उनको अन्त्येष्टी गरिने जनाइएको छ ।
यसैबीच दमक बहुमुखी क्याम्पसले नेता शर्माको निधनमा मंगलबार एक दिन शोक बिदा दिएको छ भने कांग्रेस झापाले एक दिन पार्टी कार्यालय बन्द गरिने र तीन दिन सम्म पार्टीको झण्डा झुकाउने कांग्रेस झापाका सचिव कृष्ण हुमागाइँले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्