Ads

बालकृष्ण खाँणलाई छाड्ने कि थुन्ने भन्ने विषयमा बाझियो राय


काठमाडाैँ । पूर्व गृहमन्त्री बालकृष्ण खाणका सबालमा उच्च अदालतका न्यायाधीशहरूको राय बाझिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको हो । अब बालकृष्णको हकमा तेस्रो न्यायाधीशको एकल इजलासमा छुट्टै सुनुवाइ हुनेछ । त्यतिबेलासम्म खाण थुनामै रहने भएका छन।

यद्यपि सचिव टेकनारायण पाण्डे, नरेन्द्र केसी, सन्दीप रायमाझी, केशव दुलाल, टेकनाथ रिजाललगायतलाई भने धरौटीमा रिहा गर्न आदेश दिइएको छ । जिल्ला अदालत काठमाडौंले गएको असार १ गते रायमाझी, खाँणसहित १६ प्रतिवादीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश गरेको थियो ।

जिल्ला अदालतको आदेशपछि टोपबहादुर रायमाझी र खाँणका अलावा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी र टोपबहादुरका छोरा सन्दीप रायमाझी, बिचौलियाका रूपमा चिनिएका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी, रामशरण केसी र हरिभक्त महर्जनलगायत थुनामा गएका थिए ।

प्रतिवादीद्वय लक्ष्मी महर्जन र टंक गुरुङलाई भने धरौटी तारेखमा छाडिएको थियो ।

थुनामा रहेका प्रतिवादीहरू जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका थिए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनेर २८ करोड ८१ लाख रुपैयाँ ठगी गरेको आरोप प्रतिवावदीहरूमाथि छ । तत्कालीन अवस्थामा पक्राउ परेका १८ र फरार रहेका १२ जना गरी ३० जनालाई प्रतिवादी बनाई दायर गरिएको मुद्दाको फैसला भने जिल्ला अदालतबाटै आउनेछ ।

जिल्ला अदालत काठमाडौंमा यो मुद्दाको अन्तिम सुनुवाइ शुरू हुन बाँकी नै छ ।

 

Ads

सम्बन्धित पोष्टहरू