नवलपरासी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा देखिएको भ्रष्टाचारलाई हटाउनुपर्ने बताएका छन् ।नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले आयोजना गरेको जिल्ला सम्मेलन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै नेता कोइरालाले नेपाली नागरिकमा देखिएको निराशापनले देशको आर्थिक, सामाजिक पक्षलाई सुधार गर्न सङ्केत गरेको बताए ।
उनले भने, “देशलाई भ्रष्टाचारमुक्त बनाउन पाए मात्र देश विकासको गतिमा जान्छ । कृषि प्रधान देश भन्छाैं तर किसानकै लागि ठूलाठूला समस्या छन् । देशमा देखिएको भ्रष्टाचारले आमनगरिकको अनुहारमा खुसी छैन ।” देशमा भ्रष्टाचार छ भन्छौँ तर कहाँ छ भन्ने कुरामा पुग्न नसकेको नेता डा कोइरालाको भनाइ छ । उनले– “स्थानीय तह आएपछि वडा र पालिकाबाट मात्रै भ्रष्टाचार भएको भनेका छौँ । सङ्घीयता हटाउनका लागि तलबाट भ्रष्टाचार भएको धेरैले भनेका छन् । तर भ्रष्टाचार त केन्द्रदेखि नै रहेको छ ।”
सङ्घीयता विरोधीले मात्र स्थानीय तहमा भ्रष्टाचार भयो भनेर हल्ला फिँजाएको उनले बताए । ठूलो–ठूलो भ्रष्टाचार केन्द्रबाटै रहेको उनको भनाइ छ । सङ्घीयता आयो तर अधिकारविहीन सङ्घीयताले देशमा परिवर्तन हुन नसकेको कोइरालाको भनाइ छ । सबै अधिकार केन्द्रमै सीमित गरेर कसरी सङ्घीयताको अनुभुति हुन्छ भनी प्रश्न गर्दै नेता कोइरालाले अधिकारसहितको सङ्घीयता लागू गर्न आवश्यक रहेको बताए ।
नेता कोइरालाले गुटगत राजनीति गरेर कांग्रेस सफल नहुने बताए । विसं २०८४ को लागि लिएको मिसनलाई पूरा गर्न गुटगत राजनीति पार्टीबाट फाल्नुपर्नेमा उनले जोड दिए । विसं २०८४ को निर्वाचन कांग्रेस एक्लै चुनाव लड्नु पर्ने आवश्यकता रहेको नेता कोइरालाले बताए । पार्टीमा देखिएको विभिन्न आन्तरिक समस्यालाई समाधान गर्नका लागि पार्टीले एकपटक बसेर छलफल गरी योजना बनाएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
कांग्रेसका जिल्ला सभापति अर्जुन पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य दीपक गिरी, दिनेश कोइराला, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, महामन्त्री विक्रम खनाल, भीमबहादुर थापालगायतले कार्यक्रममा सम्बोधन गर्दै पार्टी एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्