कैलाली । कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम बमको एक बिघा छ कट्ठा ऐलानी जग्गा करिब ६० वर्षदेखि भोगचलन गर्दै आएको छ । जग्गा भएर पनि सुकुम्बासीको जस्तो जीवन बिताउन बाध्य निसाद यतिबेला भने खुसी छन् । राष्ट्रिय भूमि आयोग गठन भएर जग्गा वितरणको काम सुरु भएसँगै वडा कार्यालयबाट लालपुर्जाको निस्सा पाएपछि उनी खुसी भएका हुन् । “जग्गा भएर पनि सुकुम्बासीजस्तो भएर बस्नुपरेको थियो । त्यस जग्गाबाट उत्पादन गर्नभन्दा अर्को विकल्प नहुँदा धेरै सपना मार्नुपरेको थियो । निसाद भन्छन्, “पहिले नै लालपुर्जा पाएको भए त्यही जग्गा बैंकमा राखेर कैयौँ काम गर्न सकिन्थ्यो होला । त्यो हुन सकेन । अब आशा जागेको छ । स्थानीय सरकारले ढिलै भए पनि लालपुर्जा वितरणको प्रक्रिया सुरु गर्दा आगामी दिनमा विगतको जस्तो समस्या आउने छैन ।”
वडा कार्यालयले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण सुरु गरेसँगै वडाभित्रका करिब छ सय परिवारमा खुसियाली छाएको छ । सोही ठाउँका मङ्गल पुनसँग कति जग्गा छ भन्ने थाहै छैन । करिब सात दशकदेखि भोगचलन गर्दै आएको जग्गा अनुमानित एक बिघाभन्दा बढी छ । वडा कार्यालयबाट निस्सा पाएपछि निकै खुसी भएका उनी लालपुर्जा पाउनेमा विश्वस्त हुनुहुन्छ । “एक बिघाभन्दा बढी जग्गा होला । तर नापजाँच अहिलेसम्म भएको छैन । उनी भन्छन्, “वडा कार्यालयबाट निस्सा पाएपछि अब लालपुर्जा पाउने आशा जागेको छ । अब जग्गा कति छ भन्ने पनि थाहा हुन्छ ।”
टीकापुर नगरपालिकाको वडा नं १ स्थित टीकापुर बहुमुखी क्याम्पसको जग्गामा मात्रै पाँच हजारभन्दा भन्दा बढी सुकुम्बासी छन् । क्याम्पसको नाममा रहेको तीन सय बिघा जग्गा अतिक्रमण गरेर बसेका सुकुम्बासी त्यही ठाउँमा जग्गा पाउने आशामा छन् भने क्याम्पस प्रशासनले पटकपटक आफ्नो जग्गा खाली गराइदिन स्थानीय सरकारमार्फत आग्रह गर्दै आएको छ । त्यहाँ बसोबास गरिरहेका सुकुम्बासीलाई व्यवस्थापन गर्न भने चुनौती देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्