जाजरकोट\ जाजरकोट भुकम्पका पिडीतहरुले तत्काल घर निर्माण गरि जिविको पार्जनको आधार बनाई दिन माग गरेका छन् ।
कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटका घरबारविहीन पीडितले सरकारले जति छिटो घर बनाई दिएर गरिखाने बाटो पहिल्याई दिन आग्रह गरेका हुन् । उनीहरुले पूर्ण र आंशिक रूपमा क्षति पुगेका पीडितहरूले सरकारले घर बनाइदिए अरू जीविकोपार्जनका लागि गाउँघरमै ऐँचोपैँचो गरेर भए पनि व्यवस्था गर्ने बताएका छन् ।
पाँच घर क्षति भएकी भेरी नगरपालिका–१, रिम्नाका विजय रानाले भनिन् “हामी स्वयंले घर बनाउन सक्दैनौँ । सरकारले राहत दिए मात्र घर बनाउन सकिन्छ ।” खेतीकिसानी गरेर जीविकोपार्जन गर्ने किसान रानाले दुःखेसो पोख्नुभयो, “सरकारले दिएको राहत र सहयोगले पुग्दैन । त्यसैले जग्गा नबेचीकन घर बनाउनका लागि सरकारले सहयोग गर्नु पर्छ ।”
यस्तै भेरी नगरपालिका–१, रावतगाउँका जसवीर दमाई भन्छन्, “सरकारले चामल दिएको छ । पाल दिएको छ । घर बनाइदिनुप¥यो । रकम दिनेभन्दा पनि घर बनाइदिनु पर्छ ।” उनले भूकम्पलगत्तै सरकारले पठाएको हेलिकोप्टरले रावतगाउँका घाइतेहरूको उद्धार गरेर थुपै्र जनधनको क्षति कम गरेको पनि बताए ।
भूकम्प जानुभन्दा केही दिनअघि सुत्केरी भएकी सोही गाउँकी हरिमाया परियारले छिमेकीको पोल्ट्री फार्मका लागि बनाएको टहरामा आश्रित भएको बताएकी छन् । उनले पाल र ब्ल्याङ्केटसहित चामल, चाउचाउ र हर्लिक्सलगायतका खाद्यान्नसँगै नियमित रूपमा हेल्थपोस्टमा चेकजाँच भएको जनाईन् ।
प्रतिक्रिया दिनुहोस्