Ads

नौमती बाजाको संरक्षणमा महिला


इलाम । इलामका महिला नौमती बाजाको संरक्षणमा जुटेका छन् । बाहुन, क्षेत्री, राई, लिम्बु, दलितलगायत समुदायका महिलाले जातीय भेदभाव र छुवाछूतजस्ता सामाजिक विकृतिलाई तोड्दै बाजा संरक्षका लागि नौमती बाजा बजाउन लागि परेका हुन् । इलाम नगरपालिका– ९ का महिलाले समूह नै गठन गरि बाजा बजाउन लागिपरेका छन् ।

कुनै समय कुनै एक समुदाय विशेषका पुरूषले मात्र नौमती बाजा बजाउने चलन थियो । उक्त परम्परा तोड्दै जातीय भेदभाव हटाउने उद्देश्यले समुदायका सबैले नौमती बाजा बजाउन थालेका छन् । नौमती बाजामा पुरूष एकाधिकारको अन्त्य गर्दै कतिपय बाहुन, क्षेत्री समुदायका महिलाले मात्र नभएर सबै समुदायका महिला मिलेर यतिबेला बाजा बजाएर आर्थिक आम्दानी गर्न लागेका छन् ।

एउटै उमेर समूहका उनीहरु हातमा नर्सिङ्गा, सहनाई, दमाहा, ढोलकी, ट्याम्को र झ्याली लिएर पञ्चेबाजा बजाउन सुरू गरेपछि त्यहाँको माहोल नै फेरिने गरेको छ । महिलाले बाजा बजाउन हुन्न भन्ने परम्परागत धारणालाई अन्त्य गर्न महिलाको यो समूहले नौमती बाजामार्फत समाजमा सशक्तीकरण र सचेतनाको अभियानलाई गति दिएका छन् । उनीहरु परम्परागत पञ्चे बाजाको संरक्षण र संवद्र्धन गर्दै सामाजिक परिवर्तनका अभियानमार्फत अघि बढेको लोक गायक देवीप्रसाद गौतमले बताए ।

नौमती बाजा पञ्चेबाजाको ठूलो रुप हो । नौमती बाजा नेपाली धार्मिक, एवं सांस्कृतिक सम्पदाको रुपमा विवाह, व्रतबन्ध, विदेशी पाहुनाको स्वागत र बिदाइ, राष्ट्रिय अन्तर्राष्ट्रिय सभा समारोहदेखि विशेष कार्यक्रममा बजाइने गरिन्छ । यसको संरक्षण गर्नका लागि इलाम नगरपालिका वडा नम्बर– ९ ले विशेष कार्यक्रमको योजना तयार गरि महिलाहरुलाई तालिमसमेत दिएको इलाम नगरपालिका वडानम्बर –९ का अध्यक्ष गोपाल चौहानले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू