Ads

तोकिएको समयमा काम पूरा नभए पछि म्याद थप्ने तयारी


सुर्खेत\ मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको धुलियाबिट–भेडाबारी सडक निर्माण सुस्त देखिएको छ । यस खण्डको सम्झौता अवधि सकिन एक महिना मात्रै बाँकी हुँदा काम अपेक्षित हुन सकेको छैन । सम्झौता अनुसार सडकको काम सम्पन्न गर्न भने अझै ४५ प्रतिशत बाँकी छ । पुस १३ गते ठेक्काको सम्झौता सकिँदै छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७८ असार २८ देखि योजना सुरु भएको थियो । अहिलेसम्म ५५ प्रतिशत मात्र कार्यप्रगति भएको बताइन्छ । वित्तीय प्रगति ४८ प्रतिशत हासिल भएको छ ।

धुलियाबिट–भेडाबारी ३५ किलोमिटर सडक स्तरोन्नतिका लागि एक अर्ब ९४ करोड ८४ लाख २३ हजार छ सय रुपियाँ लागत अनुमान गरिएको छ । ठेक्का सम्झौता एक अर्ब तीन करोड २३ लाख ७८ हजारमा भएको छ । लागत अनुमानभन्दा ४१ प्रतिशत कममा निर्माण कम्पनीसँग सम्झौता भएको हो । निर्माणको जिम्मा कालिका के एस बेदान्सी जेभी कैलालीले लिएको छ । अहिलेसम्म ४७ करोड बजेट मात्र खर्च भएको मदन भण्डारी राजमार्ग कार्यालय सुर्खेतले जनाएको छ ।

यो दुई वर्षमा साढे पाँच किलोमिटर सडक मात्र कालोपत्रे भएको छ । २९ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । एक किलोमिटर सडक कालोपत्रेका लागि तयार पारिएको, दुई किलोमिटरमा बेस निर्माण गरिएको, पाँच किलोमिटरमा सब–बेस निर्माणको काम सम्पन्न भएको राजमार्ग कार्यालयले जनाएको छ । अहिले सडकमा बेस र सब–बेसको काम भइरहेको कार्यालयका इन्जिनियर रामसागर हरिजनले जानकारी दिए । सडकको नाला, पर्खाल, कल्भर्ट जस्ता काम सकिएर अब कालोपत्रेलगायतका काम गर्न मेसिनरी उपकरण प्रयोग हुने कार्य बाँकी रहेको बताइन्छ ।

तोकिएकै मितिमा काम सम्पन्न नहुने भएपछि मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले म्याद थप गर्ने तयारीसमेत गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू