काठमाडौ\ भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको चार महिनामा मात्रै ८८ करोड मूल्य बराबरको दुधजन्य वस्तुहरु आयात भएको देखिएको छ । सरकारले पाउडर दुध आयातमा २०७५ सालदेखि नै कडाइ गरेको छ । तर, नाम परिवर्तन गरेर अर्के बहानामा पाउडर दुध आयात भइरहेको उद्योगीहरु बताउँछन् । भन्सार विभागको तथ्याङ्कमा भने चालू आर्थिक वर्षको साउनदेखि कार्तिक महिनासम्ममा क्रिम, स्किमिल्क दुध पाउडर, बेबि पाउडर, बटरमिल्क, बटर, घिउ, अन्य दुधजन्य वस्तुहरु, चिजलगायत २० वटा आइटममात्रै ८८ करोड ३९ लाख १५ हजार बराबरको आयात भएको छ ।
गत वर्ष सोही अवधिमा ७७ करोड ६२ लाख ४४ हजारको आयात भएको थियो । तथ्याङ्क अनुसार गत आर्थिक वर्षभरीमा विभिन्न २६ वटा दुधजन्य वस्तुहरु २ अर्ब ३८ करोड ४६ लाख ६ हजार बराबरको आयात भएको थियो ।
यो तथ्याङ्कले नेपालका डेरी उद्योगहरुले वस्तुको विविधीकरणमा जानुपर्ने देखाएको छ । दुध बढी उत्पादन हुँदा विक्रीमा समस्या भइरहेको बेला विविधीकरणमा गए बजारमा खपत गर्न सकिने सरकारी अधिकारीहरु बताउँछन् । ‘पाँच वर्ष अगाडिसम्म दुध अरु देशमा निर्यात गर्ने भन्दा मान्छे हाँस्थे । तर, अहिले हामी दुध निर्यातमा अनुदान दिने भनेर बजेट राखेका छौं । विकासको चरणमा निर्यातमा अनुदान दिनुपर्छ भनेर हामीले बजेट राखेका हौं । व्यवसायीले पनि देशभित्र बिक्री कति गर्ने र देश बाहिर कति पठाउने भनेर निर्णय गर्नुपर्छ,’ उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा। लेखराज दाहालले भने, ‘सरकारले ०७५ सालमै पाउडर दुध आयातमा प्रतिबन्ध लगाएको छ । वैध बाटोबाट आएपनि त्यो गैरकानूनी हो । यो रोकिनुपर्छ । सँगसँगै दुधजन्य वस्तुको विविधीकरणमा लाग्नुपर्छ ।’
विराटनगरमा रहेको सूर्योदय डेरी उद्योगका संचालक मनोज यादव भने विदेशबाट आयात भइरहेका दुधजन्य उत्पादनका सबै सामग्री नेपालमै उत्पादन गर्न सक्ने बताउँछन् । ‘हामीले पनि विदेशबाट आयात भइरहेका वस्तुहरु उत्पादन गर्न सक्छौं,’ उनले भने, ‘तर, वैध तरिकाले भन्दा पनि अवैध तरिकाले पाउडर दुध बढी आउँदा समस्या छ । वैध तरिकाले आउँदा पनि नाम परिवर्तन गरेर ल्याएको पाएका छौं ।’ उनले नेपालका बिस्कुट उद्योगहरुले पनि पाउडर दुध लुकाइछपाइ ल्याएरै खपत गरिरहेको दाबी गरे । त्यसको अध्ययन र अनुगमन गर्दा यो विषय स्पष्ट हुने व्यवसायीहरुको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्