कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट सशस्त्र प्रहरी बलले सोमबारदेखि नेपाल–भारत सीमा स्तम्भ मर्मत तथा रङ्गरोगन कार्य सुरु गरेको छ । सशस्त्र प्रहरी बल नं ३५ गण शैलेश्वरी कञ्चनपुरमा पर्ने सीमा स्तम्भ मर्मतको डोकेबजारस्थित मुख्य सीमा स्तम्भ नं ७५३ बाट सुरु गरिएको हो । पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयानाथ शर्मा, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, सशस्त्र प्रहरी बल नं ७ बैजनाथ वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले संयुक्तरुपमा मर्मत तथा रङ्गरोगन कार्यको शुभारम्भ गरे ।
सशस्त्र प्रहरी बल नं ७ बैजनाथ वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले बिजोर सङ्ख्यामा कञ्चनपुरमा सशस्त्र प्रहरीले ६६ वटा सीमा स्तम्भ मर्मत गर्ने जानकारी दिए । उनले दुई देशबीचको सीमा रक्षा, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणलगायत विषयमा भारतीय सुरक्षा निकायसित निरन्तर समन्वय र सहकार्य भइरहेको जानकारी दिए । उनले सशस्त्र प्रहरी बललाई पहिलोपटक सीमा मर्मतसम्भारको जिम्मेवारी दिएअनुरुप सशस्त्र प्रहरीले पूरा गर्ने विश्वास दिलाए ।
त्यसैगरी कैलालीमा समेत सोमबार नै सीमा स्तम्भ मर्मत तथा रङ्गरोगनको कार्य थालिएको छ । पूर्वी नेपालमा पनि सीमा स्तम्भको मर्मत शुरु भएको छ । कञ्चनपुरतर्फ सशस्त्र प्रहरीको नं ३५ गण मुख्यालय र कैलालीमा नं ३४ गणले सो कार्य सशस्त्र प्रहरी बलले जनाएको छ । विसं २०१४ साल पछाडि बनेका सीमा स्तम्भ मात्रै मर्मतसम्भार गर्ने जिम्मेवारी सरकारबाट प्राप्त भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्