Ads

हुम्लामा खाद्यान्न अभाव शुरु


हुम्ला\ वर्षौ देखि खाद्यान्न अभाव भोग्दै आएका हुम्ली यस वर्ष पनि सोहि समस्या भोग्नु पर्ने अवस्थामा पुगेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाको गोदाम खाली हुँदा डेढ महिनादेखि सर्वसाधारण खाद्यान्न पाउनबाट वञ्चित भएका छन् । चालु आर्थिक वर्षको निर्धारित कोटाको खाद्यान्न हालसम्म ढुवानी हुन नसक्दा यस्तो समस्या भएको हो ।

असोजयता लिमिटेडको शाखाबाट वितरण हुने खाद्यान्न पाउन नसकेको स्थानीयको गुनासो छ । प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले यस वर्षको कोटाको खाद्यान्न हालसम्म ढुवानी हुन नसकेका कारण लिमिटेडको गोदाम खाली भएको बताएका छन् । उनले आफूले खाद्यको केन्द्रलाई यसबारे समयमै जानकारी गराइसकेको भन्दै खाद्य व्यवस्था समितिको बैठक राखेर लिखित रूपमा जानकारी गराइने बताए ।

लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले साउनमा ढुवानीका लागि बोलपत्र आह्वान गरेर भदौबाट ढुवानी हुनुपर्ने खाद्यान्न हालसम्म सप्लायर्स छनोट चरणमा रहेकाले गोदाम खाली हुने अवस्था आएको जनाएका छन् । लिमिटेडले भदौ महिनामा मात्र ढुवानीका लागि बोलपत्र आह्वान गरेको थियो । उनले हाल गोदाममा १२० क्विन्टल मात्र खाद्यान्न रहेको र सो बिक्री गर्न सक्ने अवस्थामा नरहेको जनाए। यहाँ एक पटक खाद्यान्न सर्वसाधारण, बजारवासी र कर्मचारीलाई बिक्री तथा वितरण गर्दा दुई हजार पाँच सय क्विन्टल आवश्यक पर्छ ।

हाल मौज्दात रहेको न्यून खाद्यान्नबाट भैपरी आउने कार्य जन्म, मृत्यु, कैदीबन्दीलाई पनि अब चाँडै ढुवानी नभए वितरण गर्न नसकिने अवस्था छ । शाखा प्रमुख अधिकारीले कार्यालयमा खाद्यान्नका लागि आउने सर्वसाधारणलाई रित्तो हात फिर्ता पठाउनुको अन्य विकल्प कार्यालयसँग नरहेको बताए ।
यस वर्ष हवाई मार्गको खाद्यान्न सुर्खेतबाट छ हजार र नेपालगन्जबाट चार हजार क्विन्टल कोटा निर्धारण गरिएको छ । यो खाद्यान्न सिम्रिक एयरले नेपालगन्जबाट प्रतिकेजी १४३ रुपियाँ र सुर्खेतबाट प्रतिकेजी १३७ रुपियाँमा ढुवानी गर्ने गरी लिमिटेडसँग सम्झौता गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू