काठमाडाैँ । मध्यपहाडी लोकमार्गको ५ सय मिटरमा बाटो नभएपछि एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ भेरी कोरिडोरतर्फ लागेको छ ।
२०७९/८०मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्तरगत छेडागाड नगरपालिका १२ को मन्ता भिरमा ५ सय मिटर ट्रयाक खोल्ने काम नसकिएपछि लोकमार्गको काम अवरुद्ध भएको छ ।
मध्यपहाडको अवस्था र विकासका संभावनाका बारेमा त्यस क्षेत्रका राजनीतिक दल, नागरिक अगुवा, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति र सर्वसाधारणसँग छलफलका लागि सुरु गरिएको एमालेको संकल्प यात्राले बीचमा बाटो नभएपछि दैलेख बजारबाट लोकमार्ग छोडेको हो ।
मध्यपहाडी लोकमार्गबाटै जाने बाटो नजोडिएको हुनाले बाध्य भएर बीचमा ट्रयाक परिवर्तन गर्नुपरेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
बैतडीको झुलाघाटबाट सुरु भएर दैलेखसम्म मध्यपहाडी लोकमार्गमै हिँडेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अभियान आज भेरी कोरिडोर हुँदै रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा जोडिने छ ।
प्रतिक्रिया दिनुहोस्