Ads

मुलुकको समृद्धिका लागि नेताहरूले राम्रो काम गर्न सकेनन्: अध्यक्ष तिमिल्सिना


काठमाडाैँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेताहरुले मुलुकको समृद्धिका लागि राम्रो काम गर्न नसकेको बताएका छन्।

व्यवस्था परिवर्तनमा ठूलो त्यागसहितको संघर्ष गरेका नेताहरुले मुलुकको समृद्धिका लागि भने राम्रो काम गर्न नसकेको उनले बताए।

‘व्यवस्था परिवर्तनमा तपाईंहरूको महत्वपूर्ण योगदान रह्यो। तर समृद्धिका लागि तिमीहरुले राम्रो काम गर्न सकेनौं। अब समृद्धिको खाका हामीसँग छन् भनेर युवा पुस्ताले हस्तक्षेप गर्नुपर्‍यो,’ उनले भने।

बाल क्लवका पूर्व सदस्यहरूको दोस्रो राष्ट्रिय सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले युवा पुस्तालाई मुलुकको सुशासन र समृद्धिको लागि संघर्ष गर्न पनि आग्रह गरेका थिए।

अघिल्लो पुस्ताका नेताहरुले व्यवस्था परिवर्तनका लागि गरेको संघर्षप्रति उनले धन्यवाद दिएका थिए। ‘युवा पुस्ताले मुलुकको सुशासन र समृद्धिको खाकासहित राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ,’ उनले भने।

युवाहरू विदेश जानै हुन्न भन्ने पक्षमा आफू नरहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले त्यहाँको सीप, ज्ञान र अनुभवलाई लिएर राष्ट्र निर्माणका लागि स्वदेशमै फर्कनुपर्ने बताए।

देशलाई सुशासन, समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढाउने कुरामा युवाहरू दृढ अठोटका साथ अघि बढनुपर्ने उनले बताए। उनले बाल क्लवमा आवद्ध युवाहरुले भावी दिनमा राष्ट्र निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने लक्ष्यसहित अघि बढ्नुपर्ने बताए।

Ads

सम्बन्धित पोष्टहरू