काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ । स्वास्थ्यमा समस्या आएपछि मंगलबार गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका मन्त्री श्रेष्ठको एन्जियोप्लास्टी गरिएको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
चिकित्सक अरुण मास्केसहितको टोलीले एन्जियोप्लास्टी गरेको र हाल मन्त्री श्रेष्ठ सघन उपचार कक्षमा उपचाररत रहेको भट्टराईले जनाएका छन् । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । उनको लेफ्ट एन्टेरियर डिसेन्डिङ कोरोनरी आर्टरीको एन्जियोप्लास्टी गरिएको हो । मङ्गलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति मन्त्री श्रेष्ठ गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका थिए ।
यसै विच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन् । गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उनको एन्जियोप्लास्टी सर्जरी गरीएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले अस्पताल पुगेर श्रेष्ठसँग भेटघाट गरेका छन् । प्रधानमन्त्री र गृहमन्त्रीबीच सामान्य कुराकानी भएको गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्