Ads

नेपालीलाई रुस पठाउने पक्राउ, सेनामा भर्ती नलिन नेपालको आग्रह


काठमाडौं । प्रहरीले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाडौंका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलका अनुसार उनीहरू रुसी सेनामा जान युवा खोज्ने, कागजात मिलाइदिनेदेखि लिएर भिजिट भिसा मिलाउनेसम्मका गतिविधिमा सङ्लग्न पाइएको छ ।

पछिल्लो समय रुस(युक्रेन युद्धपछि रुसले विदेशी नागरिकका लागि भर्ती खोल्दा धमाधम नेपाली युवा अवैध बाटो हुँदै त्यहाँ गइरहेका छन् । यसरी अवैधरुपमा रुसी सेनामा गएका छ जना नेपाली युवाले ज्यानसमेत गुमाएका छन् । उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

रुसी सेनामा भर्ती नगर्न रुसलाई आग्रह
सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ती नगर्न रुसलाई आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले कुनै नेपाली नागरिकलाई भर्ती भएमा त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुस सरकारसँग अनुरोध गरेको छ ।

मन्त्रालयले रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने छ जना नेपाली नागरिकको नाम पनि सार्वजनिक गरेको छ । ज्यान गुमाउने नेपाली नागरिकमा गोरखाका सन्दीप थपलिया, वाणगङ्गा–१ कपिलवस्तुका रूपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जा पुतलीबजार–५ का प्रितम कार्की, दोलखा मेलुङ–६ का राजकुमार रोका र इलाम–५ का गङ्गाराज मोक्तान रहेको मन्त्रालयले जनाएको छ । ज्यान गुमाएका नेपाली नागरिकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारले रुस सरकारलाई अनुरोध गरेको छ । रुसी सेनामा भर्ती हुनु अवैधानिक हो ।

सरकारले मङ्सिर १६ गते केही मित्रराष्ट्रसँग परम्परागत सम्झौताका आधारमा गोर्खा भर्ती भए पनि रुससँग त्यस्तो भर्तीको सम्झौता नभएको स्पष्ट पार्दै भर्तीमा नजान अपिल गरेको थियो । रुसी सेनामा भर्ती भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्नेसम्बन्धमा सरकारले कूटनीतिक पहल जारी राखेको बताएको छ ।

Ads

सम्बन्धित पोष्टहरू