कञ्चनपुर । कञ्चनपुरका नौवटै स्थानीय तहमा आगामी पुस मसान्तभित्र १४औंँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले पालिकाका नगर खेलकुद समिति र खेल शाखाका प्रमुखसँगको बैठकपछि आगामी पुस समान्तभित्र पालिकास्तरीय रनिङ शिल्ड गर्ने तय भएको जानकारी दिए ।
उनका अनुसार आगामी माघको दोस्रो साता यहाँको कृष्णपुर नगरपालिकामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ । “प्रतियोगितामा प्रत्येक पालिकामा ३० देखि ४० विद्यालय सहभागी हुनेछन्”, भट्टले भन्नुभयो, “कञ्चनपुरबाट प्रदेशस्तरीय रनिङ शिल्डमा एक सय भन्दा बढी खेलाडी सहभागी हुनेछन् ।
” आगामी माघको अन्तिम वा फागुनको पहिलो साता सुदूरपश्चिम प्रदेश स्तरीय रनिङ शिल्ड आयोजना हुने उनले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा भलिबल, कवड्डी, एथ्लेटिक्स, तेक्वान्दो कराते, उसुलगायत खेल समावेश हुनेछन् । गतवर्ष भएको सुदूरपश्चिम प्रदेशस्तरीय रनिङ शिल्डमा कैलालीले प्रथम र कञ्चनपुरले दोस्रो हासिल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्