Ads

डिएफसी मोरङ किराँत गोल्डकपको फाइनलमा प्रवेश


पाँचथर । पाँचथरको फिदिममा जारी प्रथम किराँत गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजकलाई पराजित गर्दै डाँगीहाट फुटबल क्लब मोरङ फाइनलमा प्रवेश गरेको छ । फिदिमको फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न खेलमा आयोजक पाँचथर फुटबल क्लबलाई ट्राइब्रेकरमा ४–१ गोलअन्तरले पराजित गर्दै मोरङ उपाधि नजिक पुगेको हो ।

निर्धारित समयमा दुवै फुटबल टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो । ट्राइब्रेकरमा मोरङका चार खेलाडीले गोल गर्दा आयोजकका एक खेलाडीले मात्रै गोल गर्न सके । मोरङका लागि उमेश कार्की, उमेश राई, सञ्जय धिमाल र अभिषेक लिम्बूले गोल गरे । तर आयोजक पाँचथर क्लबका रोशन आङदेम्बेको प्रहार गोल पोष्टबाट बाहिरिएको थियो भने प्रकाश धमलाको प्रहार मोरङका गोलरक्षक प्रमिजय गच्छदारले रोक्न सफल भएका थिए । आयोजक टिमका अनुकेश शर्माको प्रहार भने गोलमा परिणत भएको थियो ।

खेलको उत्कृष्ट खेलाडी (म्यान अफ दी म्याच) डिएफसी मोरङका गोलरक्षक प्रमिजय गच्छदार घोषित हुँदै पाँच हजार रकम र पदक प्राप्त गरे । आज हुने दोस्रो सेमिफाइनलमा बिर्तामोड युनाइटेड क्लब झापा र कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङबीच प्रतिस्पर्धा हुने आयोजक पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग मगरले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल मङ्सिर २३ गते हुनेछ । प्रतियोगिताको विजेताले चार लाख चार हजार चार सय ४४ र उपविजेताले दुई लाख दुई हजार दुई सय २२ सहित ट्रफी हात पार्नेछन् ।

Ads

सम्बन्धित पोष्टहरू