Ads

एमालेको सरकार नभएको भए मेलम्चीको पानी काठमाडौंसम्म पुग्थेनः ओली


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । अध्यक्ष ओलीले मुहान सफा गरेर वा अन्यत्र सारेर भएपनि सरकारले काठमाडौंवासीका लागि सो पानीको व्यवस्थापन गर्न ढिलाई गर्न नहुने बताएका हुन् ।

पार्टीको झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्राको क्रममा आईतवार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार नभएको भए मेलम्चीको पानी काठमाडौंमा पुग्ने अवस्थानै नहुने दाबी समेत गरे । त्यस अवसरमा अध्यक्ष ओलीले जनतालाई निराश नहुन पनि आग्रह गरे । एमालेले देशलाई बिग्रन नदिने भएकाले कसैले पनि निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाई थियो ।

अध्यक्ष ओलीले भने, ‘यस यात्राको क्रममा अहिलेसम्म लाखौं जनताको सहभागिता, आत्मियता, माया, स्नेह, सम्मान हामीले प्राप्त गर्‍यौं । मैले मालाहरु हेरेँ । म यहाँहरुलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु । यस ठाउँको विकास, निर्माणको कुरा हामीलाई थाहा छ । मेलम्ची आयोजनाको कुरा हामीलाई थाहा छ । नेकपा एमालेको सरकार हुँदैन थियो भने मेलम्चीको पानी काठमाडौंमा झर्ने नै थिएन । हामी यसलाई तुरुन्तै सफा गरेर हेडलाई सार्नुपर्ने सार्नुप¥यो, यसमा कथा हालेर हुन्छ ? सार्न पर्ने हो भने सार्ने । नसार्ने हो भने त्यसलाई तयार पार्ने । मर्मत, सम्भार जे गर्नुपर्छ गर्ने । त्यस ढंगले जाने । र, जहाँ पानी पस्ने मुलगेट ।

त्यसलाई कतिबेर बन्द गर्ने, कतिबेर खोल्ने भन्ने कुरा पनि सञ्चालकहरुले थाहा पाउनुप¥यो । तर खाना बनाउनेहरु, तरकारी केलाउनेहरु दाजुभाई दिदीबहिनीहरु पनि यस यात्रामा सरिक हुनुहुन्छ । दुनियाँमा यति सफलताका साथ कहीँ पनि भएको देखिँदैन । र, हाम्रो पार्टीले पनि त्यत्तिकै सफलताका साथ काम गरेको छ । म तपाईहरुलाई भन्न चाहन्छु–तपाईहरु निराश हुनुपर्दैन अहिलेको अवस्था हेरेर । यस्ता सरकारहरु आउँछन, जान्छन । गठबन्धनहरु बन्छन, भत्किन्छन । कुनै ठूलो कुरा होइन । तर हामी हाम्रो देश बिग्रन दिँदैनौं । हाम्रो देश अहिले ओरालो लागेको छ । यसलाई रोक्छौं । र, फेरि सकारात्मक बाटोमा फर्काउँछौं ।

तपाईहरु ढुक्क भएर अगाडि बढ्नु भए हुन्छ । किनभने यस देशमा नेकपा एमाले छ । समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई आफ्नो गन्तव्य बनाएर हिँडेको नेकपा एमाले छ । यहाँको विकास, निर्माण हामीले बुझेका छौं ।’अध्यक्ष ओलीले पार्टीको संकल्प यात्राको क्रममा लाखौं जनताको साथ, माया र सम्मान पाएको भन्दै आभार समेत व्यक्त गरे । यात्राको क्रममा सोमवार (भोलि) उनले दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू