Ads

श्रमजीवी–पत्रकारको पारिश्रमिक नबढाइए आइतबारदेखि सडक आन्दोलन


काठमाडौं । श्रमजीवी–पत्रकार संघ नेपालले यही शुक्रबारभित्र श्रमजीवी पत्रकारहरुको पारिश्रमिक नबढाए आइतबारदेखि आन्दोलन गर्ने चेतावनी दिएको छ । संघका अध्यक्ष जन्मदेव जैसीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र पठाई यस्तो चेतावनी दिएका हुन् । उनले सरकारलाई पत्रकारहरूको पारिश्रमिक राजपत्रमा प्रकाशित गरी लागू गर्न अल्टिमेटम दिएका छन् । उनले आउँदो शुक्रबारसम्म कुनै पहल नभए आगामी आइतबारदेखि चरणवद्ध सडक आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

विभिन्न सरोकारवालाहरूले पटक पटक ताकेता गर्दा पनि अहिलेसम्म ‘यसैसाता क्याविनेटमा लिदैछौं, अर्कोहप्ता राजपत्रमा प्रकाशित हुन्छ’ भनेर तत्कालीन सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पालादेखि भनिदै आएको तर अहिलेसम्म दुईपटक सिफारिस भएको पारिश्रमिक राजपत्रमा प्रकाशित हुँदैन, पत्रमा भनिएको छ, ‘सरकारको यस्तो रवैयाप्रति आपत्ति जनाउँदै यसैसाताको अन्तसम्म न्यूनतम पारिश्रमिक कार्यान्वयनको प्रक्रियामा नलगिए आउँदो पुस १ गतेदेखि चरणवद्ध सडक आन्दोलनमा जाने यसैपत्रमार्फत मन्त्रालयसहित सरोकारवाला सबैमा जानकारी गराउँदछौं ।’

श्रमजीवी पत्रकारहरूको पारिश्रमिक प्रत्येक २/२ वर्षमा वृद्धि गर्ने परम्परा भए पनि गत २०७५ कात्तिक १ गते श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २४,३७५ रुपैयाँ तोकिएको थियो । त्यसपछि यो मितिसम्म आइपुग्दा श्रमजीवी पत्रकारको तलब पुनरावलोकन नभएको झण्डै ५ वर्ष पूरा भएको छ । यसबीचमा न्यूनतम पारिश्रमिक निर्धारण समितिले २०७८ फागुन १८ गते र २०८० जेठमा गरी दुईपटक तहगत न्यूनतम पारिश्रमिक सिफारिस गरिसकेको छ ।

अध्यक्ष जैसीले आफूहरुले मिडिया हाउसहरुलाई धेरै पटक ध्यानाकर्षण गराएको तथा दबाब दिएको भएता पनि कानूनको कार्यान्वयन सरकारले गर्ने भएको हुँदा मन्त्रालयलाई पत्र पठाएर अल्टिमेटम दिएको बताए । न्युज हाउस नेपालसँगको कुराकानीमा उनले सरकारको उदाशिनताकै कारण श्रमजीवी–पत्रकार संघ नेपालको नेतृत्वमा पुस १ गतेदेखि आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए । आन्दोलनको स्वरुप कस्तो र के–के हुने भन्ने बारेमा चाहिँ पुस १ गते नै थाहा हुने उनको भनाइ रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू