Ads

सूचना प्रदान गर्नु हरेक सरकारी निकायको दायित्व : प्रमुख आयुक्त गुरुङ


सोलुखुम्बु । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना प्रदान गर्नु हरेक सरकारी निकायको दायित्व भएको बताउनुभएको छ । यसका लागि सजग हुन उहाँले सबैलाई आग्रह गरे ।

राष्ट्रिय सूचना आयोगले यहाँ आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख आयुक्त गुरुङले लोकतान्त्रिक पद्धतिमा सार्वजनिक निकायका क्रियाकलाप हरेक नागरिकले थाहा पाउने अधिकार भएकाले सूचनाको हक अझ महत्पूर्ण भएको बताए । नियम सम्बद्ध तवरबाट मागिएका सूचना सार्वजनिक निकायले नदिएमा उजुरी परेका खण्डमा आयोगले त्यस्ता निकायलाई कारबाही गर्ने उनले बताए ।

चार वर्षको अवधिमा आयोगले स्थानीय तहका १९ पदाधिकारीलाई कारबाही गरेको सो अवसरमा प्रमुख आयुक्त गुरुङले जानकारी दिए। कुनै पनि सार्वजनिक निकाय सूचनाको हकभन्दा माथि नरहेकाले सूचना प्रदान गर्नमा कन्जुस्याइँ नगर्न उनले आग्रह गरे ।

निमित्त प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले नागरिकलाई जतिसक्दो धेरै सूचना माग्ने वातावरण सृजना गर्र्नु कर्मचारीको दायित्व भएको बताए । कानुनले निर्दिष्ट गरेका अधिकार नागरिकलाई उपलब्ध गराउने सवालमा जिल्लाका सबै कर्मचारी प्रतिबद्ध रहेका उनले उल्लेख गरे ।

जिल्ला समन्वय समितिका उपप्रमुख टीकामाया मगरले सूचनालाई अतिरञ्जित गर्न नहुनेमा जोड दिए । सूचनाको हकले नागरिकलाई विषयवस्तुबारे जानकारी गराए पनि सूचना दुरुपयोग हुने क्रम बढेको आभास भएको बताए ।

सोलु दूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले लोकतन्त्रको सबल पक्षमध्ये सूचनाको हक पनि भएकाले नागरिक सुसूचित हुनुपर्ने बताए । “कार्यालयहरूले सूचना आदानप्रदान गर्दा गोपनीयताको हकको पनि ख्याल गर्नुपर्छ”, उनले भने । सरकारी सूचना प्राप्त गर्न पाउनु नागरिकको अधिकार भए पनि प्राप्त सूचनाको दुरुपयोग गर्न भने नहुने उनको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घ सोलुखुम्बु शाखाका सचिव डिबी खालिङले सूचनाको पहुँचमा नागरिकलाई पुर्‍याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, कार्यालयका सूचना अधिकारी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू