माेरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो मागलाई शान्तिपूर्ण ढंगले राख्न पहिचानवादी भनिएकाहरुलाई सुझाब दिएका छन् । उनले एउटा मान्छेलाई खेदेर ढुंगा हान्दैमा पहिचानवादी बन्न नसकिने पनि बताए ।
दमक नगरपालिकाले मंगलबार आयोजना गरेको लागुऔषधको नियन्त्रण, रोकथाम सचेतना र उपचार अभियान कार्यक्रमको शुभारम्भ सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पहिचानका लागि भइरहेको आन्दोलन हिंसात्मक हुँदै गएकाले अब हिंसाबाट आफ्ना माग पूरा गर्ने भ्रम त्याग्न पनि आग्रह गरे ।
पहिचानवादीको नाममा हुँदै आएका गतिविधि सरकारले गम्भीररुपमा लिँदै आएको र पहिचानका नाममा हिंसा र अस्थिरता निम्त्याउने कार्य भएकाले त्यस्ता कार्य कानुनअनुसार नियन्त्रण गर्न सरकार बाध्य हुने उनले चेतावनी दिए ।
पहिचानवादीले व्यक्ति लक्षित आक्रमण गर्ने कार्य ठीक नभएको उनको भनाइ थियो । दमकको कार्यक्रममा सहभागी हुन आउने क्रममा दमक–९ स्थित बिजुली अफिस सडकखण्डमा पहिचानवादीले कालो झण्डा देखाएर मुख्यमन्त्री कार्की चढेको गाडीमा ढुंगा प्रहार गरेका थिए । त्यसपछि उनकाे यस्ताे प्रतिक्रिया आएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्