जनकपुर \ विवाह पञ्चमी महोत्सवका कारण जनकपुर झकिझकाउ भएको छ । यहाँ आन्तरीक तथा भारतीय श्रद्धालुहरुको भिड पनि बढेको छ । त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत जननी माता सीता बिच भएको विवाहको सम्झनामा जनकपुरधाममा मनाइने साताव्यापी सिताराम विवाह पञ्चमी महोत्सव मंगलबारबाट सुरु भएको हो ।
विवाह पञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शनको कार्यक्रम भएको जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले जानकारी दिएका छन् । भगवान राम र सीताको प्रतिक बनाइएका बालबालिकालाई रथमा बसाएर पहिलो दिन जनकपुरधाम नगरको दर्शन गराइएको छ ।
नगर दर्शन कार्यक्रममा साधु सन्तले विभिन्न प्रकारका झाँकीसहित सयौंको संख्यामा श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो । उक्त अवसरमा विभिन्न प्रकारका मांगलिक गीत प्रस्तुत गरिएको थियो । पहिलो दिनको कार्यक्रम सकिएको र बुधबार दोस्रो दिन फुलबारी लिलाको कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासले जानकारी दिए ।
उनका अनुसार तेस्रो दिन जानकी मन्दिरको प्राङ्गणमा धनुषा यज्ञको आयोजना, चौथो दिन तिल्कोत्सव पाँचौ दिन मटकोर, छैठो दिन दिउँसो स्वम्बर र राति विवाह र सातौ तथा अन्तिम दिन राम कलेवा अर्थात जन्तीको विदाइ गरी सात दिवसीय महोत्सव सम्पन्न हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्