काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि एमालेको एकल सरकार आवश्यक भएको बताएका छन् ।
झुलाघाट–चिवाभन्ज्याङ मध्य पहाडी लोकमार्ग समृद्धिका लागि संकल्प अभियानअन्तर्गत नेकपा एमाले भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीले अन्नपूर्णमा आज आयोजना गरेको जनभेटघाट कार्यक्रमका बोल्दै अध्यक्ष ओलीले सीप विकास गरी कसरी आयआर्जन गर्न सकिन्छ भन्ने कुरामा ध्यान जानुपर्ने बताए । ‘यही काम नेकपा एमालेले थालेको थियो’, ओलीले भने ।
नेकपा एमालेको सरकारले छोटो समयमा पनि पर्याप्त काम गरेको ओलीले दाबी गरे । ‘विरोधीले त्यो काम सहन सकेनन्, देशको विकास सहन सकेनन्’, ओलीले भने ।
एमाले सरकारबाट हटेपछि देशको विकास ओरालो लागेको उनले आरोप लगाए । देश विकासको काम अहिले ठप्प रहेको ओलीको भनाइ छ । ‘यस्तो स्थितिलाई बदल्नका लागि, एमालेको सरकार, एकल सरकार नभई हुँदैन, त्यसकै लागि हामीले मिसन २०८४ भनेका छौँ’, ओलीले भने ।
देश बनाउने अभियानको नेतृत्व नेकपा एमालेले गर्ने ओलीले टिप्पणी गरे । ‘नेकपा एमालेले देश बनाउने कामको नेतृत्व गर्छ, यस काममा सही तरिकाको साथ अघि बढ्नुपर्छ’, ओलीले भने ।
बैतडीको झुलाघाटमबाट मंसिर १४ मा सुरु भएको यात्रा पुस १ मा पाँचथरको चिवाभञ्ज्याङ पुगी समापन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्