काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले डा. शेखर कोइरालासँग एजेन्डामा सँगै रहेको बताएका छन् ।
बुधवार बसेको संस्थापनइतर समूहको बैठकले सभापति शेरबहादुर देउवालाई विधानको पालना गर्दै अघि बढ्न दबाब बढाउने निष्कर्षसहित बैठक सकिएको हो ।
बैठकमा सामूहिक निर्णयमार्फत सभापति देउवालाई ठिक बाटोमा हिँडाउने र महासमितिसहित महाधिवेशन समयमा गर्न लागि पर्ने निर्णय भए पनि धेरै समय नेता शेखर कोइराला र गगन थापाको सम्बन्धनको विषयले लियो ।
बैठकपछि महामन्त्री थापाले आफू कोइरालासँगै रहेको बताएका हुन् ।
‘महिनौंसम्म बैठक भएन, बैठक नहुँदा असमझदारी जस्तो देखियो । एजेन्डामा शेखर कोइराला र हामी सँगै छौं,’ थापाले भने ।
बैठकमा पनि थापाले त्यही कुरा दोहोर्याएका थिए । कोशीमा मुख्यमन्त्री बनाउने बेला भने शेखरको एजेन्डालाई गगनले साथ दिएका थिएनन् ।
नेता कोइरालाले पनि गगनसँग कुनै असमझदारी नरहेको बताए ।
‘उमेरका कारण पनि गगन र मैले सोच्ने तरिका फरक छ, तर एजेन्डा फरक छैन । मिडियामा प्रचार गरिएजस्तो असमझदारी छैन,’ कोइरालाले भने ।
भेलामा सहभागीहरूले कांग्रेस रूपान्तरणका लागि मिलेर अगाडि बढ्नु पर्ने बताएका थिए ।
बैठकमा अधिकांश नेताले प्रतिनिधि सभा चुनाव हारेका र पटक–पटक अवसर पाएका व्यक्तिलाई राष्ट्रिय सभामा ल्याउन नहुने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्