धनकुटा \ नेकपा (एमाले) को ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ टोलीले बिहीबार धनकुटामा विभिन्न कार्यक्रम गर्दैछ। एमाले अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट राष्ट्रिय झण्डा फहराएर सुरु गरिएको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित सङ्कल्प यात्रा १५ औँ दिनमा धनकुटा पुग्न लागेको हो ।
सङ्कल्प यात्राको टोलीलाई बिहान लेगुवामा फूलमालासहित स्वागत गरेर जिल्ला प्रवेश गराइने एमाले धनकुटा अध्यक्ष इन्द्रमणि पराजुलीको भनाइ छ । उनका अनुसार बिहान ९ बजेतिर टोली लेगुवा आइपुग्दैछ । एमाले अध्यक्ष ओलीले १८ दिनसम्म सञ्चालन हुने सङ्कल्प यात्राको अगुवाइ रहेका छन् । सो यात्रामा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाललगायत छन् ।
लेगुवामा एमाले अध्यक्ष ओलीसहितको टोलीले ज्येष्ठ नागरिकसँग भेटघाट, पाख्रिबासमा कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकसँग कृषिको सम्भावना र चुनौतीका विषयमा अन्तरक्रिया, हिलेमा पार्क उद्घाटन लगायतका कार्यक्रम तय गरिएको एमाले धनकुटाले जनाएको छ।
धनकुटा नगरपालिकाका नगर प्रमुख तथा एमाले जिल्ला उपाध्यक्ष चिन्तन तामाङले धनकुटा नगरको कार्यप्रगति र भावी योजनाको विषयमा अध्यक्ष ओलीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखिएको छ । सिधुवा पुगेर अध्यक्ष ओलीसहितको टोलीले त्यहाँका कृषकसहित कृषि क्षेत्रसम्बद्ध सरोकारवालासँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ ।
सिधुवाको कार्यक्रम पश्चात् वसन्तपुरमा दिउँसो आमसभा गर्न लागिएको जनाइएको छ । धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख नैन विश्वकर्माका अनुसार धनकुटा, तेह्रथुम र सङ्खुवासभाको तर्फबाट संयुक्त रूपमा गर्न लागिएको आमसभामा १५ हजारभन्दा बढी मानिस सहभागी हुनेछन् । आमसभामा धनकुटाबाट पाँच हजारभन्दा बढी मानिस जाने तयारी छ ।टोली हिजो भोजपुरमा केन्द्रित रहेको थियो । पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर सङ्कल्प यात्रा समापन हुने एमालेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्