जाजरकोट \भुकम्पका कारण कतिपय आफन्त र घरबास गुमाएका जाजरकोटका भुकम्प पिडीत बस्तिमा झाडापखाला फैलिएको छ । हिउँदको चिसोमा कष्कर जीवन बिताई रहेका पिडीतहरुको बस्ति र अस्थाई टहरामा झाडापखाला फैलिए पछि थप जोखिम बढेको छ । जाजरकोटको भेरी नगरपालिका १ घुयलनेटा गाउँमा झाडापखालाको प्रकोप देखिएको हो। त्रिपालमा बस्दै आएका ५० बढी भूकम्प पीडितलाई झाडापखाला देखिएको हो।
भूकम्पपछि त्रिपालमा बस्दै आएका पीडितहरुलाई केहि दिन यता पखालाले सताइरहेको वडा सदस्य नैनबहादुर विकले बताए। घुयलनेटाका साथै डौरीकाँडा, भुन लगायतका गाउँमा पनि पखालाका बिरामी देखा परेका छन्। एक सय बढी घरधुरी रहेका ती गाउँमा चिसोले गर्दा पखाला, टाउको दुख्ने, बान्ता आउने लगायतका समस्या देखिएको स्थानीयले बताए।
गाउँमा धेरै बिरामी भएको खबर सुनेपछि आफूले वडा नम्बर १ को पिपेमा रहेको स्वास्थ्य केन्द्र र नगर स्वास्थ्य शाखामा खबर गरे पनि उपचारको लागि गाउँमा कोही नआएको वडा सदस्य नैनबहादुरले बताए। स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा.प्रतिक्षा भारतीले घुयलनेटा गाउँमा झाडावान्ताले धेरैलाई बिरामी पारेको खबर आएको तर अलि विकट ठाँउ भएको र अबेला पनि भैसकेकोले बुधबार जान नसकेपछि बिहीबार औषधी र स्वास्थ्यकर्मीसहितको टोली लिएर प्रभावित क्षेत्रतर्फ जाने बताइन्।
जिल्लाका विभिन्न ठाँउमा पखाला, निमोनिया र स्वासप्रश्वास सम्बन्धी रोगका बिरामी बढ्दै गएका छन्। जिल्लामा भूकम्प पछि चिसोका कारण २८ जना दिर्घरोगी र अन्य रोगका बिरामीहरुको ज्यान गएको छ। त्रिपालको चिसोले भूकम्प पीडितलाई निकै सकस परिरहेको छ। चिसो, अस्थाई टहरा र फैलिएको झाडापखालाका कारण वृद्धवृद्धा, बालबालिका तथा बिरामीहरु बढि समस्यामा परेका छन् । यस्तै गर्भवती महिला तथा सुत्केरीहरुलाई थप समस्या भएको छ ।
प्रतिक्रिया दिनुहोस्