जाजरकोट, संघीय सरकारले पठाएको रकम समेत खर्च हुन नसक्दा जाजरकोटका भुकम्प पिडीतको दैनिकी कष्टकर बनेको छ । भूकम्पले घरबारविहीन बनाएपछि त्रिपालमा बस्दै आएका पीडितलाई मङ्सिर भित्र अस्थायी आवासमा सार्ने सरकारी लक्ष्य थियो । त्यसका लागि सङ्घीय सरकारले पठाएको ५० करोड रुपैयाँ पालिकाको खातामा गएर थन्किएको छ । पालिकाले लाभग्राही पहिचान गरी सम्झौता गर्ने प्रक्रियामा ढिलाइ गरेका कारण रकम थन्किएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले जिल्लाका कुशे, शिवालय, छेडागाड, बारेकोट र भेरी नगरपालिकाले २० हजार ३ सय ९५ लाभग्राही कायम गरी ५० हजार ५० करोड ९८ लाख ७५ हजार रुपैयाँ सम्बन्धित पालिकाको खातामा पठाइएको जानकारी दिनु दिएका छन् । तर अहिले सम्म कुनै पनि पालिकाले लाभग्राहीलाई अस्थायी आवासका लागि रकम लाभग्राही सम्म पुगेको जानकारी नआएको उनको भनाई छ ।
स्थानीय सरकारको ढिलासुस्तीका कारण भूकम्प गएको डेढ महिना पुग्न लाग्दा पनि सङ्घीय सरकारले पठाएको रकम वितरण हुन नसकेको हो । पीडितहरू त्रिपालको चिसोले बिरामी परेर ज्यानै जान थालेको छ तर प्रक्रियागत झन्झटका कारण भूकम्प पीडितले अस्थायी आवासका लागि अनुदान रकम लिन पाएका छैनन् ।
खाता नभएकालाई नगदै रकम दिने सरकारले निर्णय गरे पनि स्थानीय सरकारले सबै लाभग्राहीलाई खाता खोल्न लगाएका छन् । खाता खोल्न बैक जानु पर्ने , कतिपयको नागरिकता नभएको , घर भत्किएको प्रहरी मुचुल्का चाहिने लगायतका प्रक्रियागत झन्झटका कारण अस्थायी आवासका लागि रकम पाउन निकै सास्ती भएको लाभग्राहीको गुनासो रहेको छ । घर भत्किएको प्रहरी मुचुल्का, जिल्ला बाहिर अन्य ठाउँमा कतै पनि घर नभएको स्व घोषणा फारम, बैक खाता लगायतका काम समयमा हुन नसक्दा लाभग्राहीले समयमा अनुदान पाउन ढिलाइ भएको हो ।
भूकम्पले घरबार विहीन भएका परिवारलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्तामा २५ हजार र निर्माण सम्पन्न भएपछि २५ हजार गरी प्रतिपरिवार ५० हजारका दरले अनुदान दिने सरकारले निर्णय गरेको महिना दिन पुग्न लागिसकेको छ ।
त्यस्तै बारेकोटले ५ हजार ५ सय ८६ घरधुरीका लागि १३ करोड ९६ लाख ५० हजार रुपैयाँ निकासा लिएको छ । बारेकोटले अस्थायी आवासका लागि ९३ लाभग्राहीका खातामा २३ लाख २५ हजार रुपैयाँ बिहीबार हालेको जनाएको छ । कुशेले ५ हजार २ सय ८७ घरधुरीका लागि १३ करोड २१ लाख ७५ हजार रुपैयाँ निकासा लिएको छ ।
धेरै क्षति भएको भेरी नगरपालिकाले २ हजार ५ सय ४९ लाभग्राही पहिचान गरी ६ करोड ३८ लाख २५ हजार रकम निकासा लिएको छ । भेरीले बिहीबार वडा नम्बर ८ का ६७ जनाको खातामा १६ लाख ७५ हजार रुपैयाँ जम्मा भएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्