Ads

‘नेपालको विविधतालाई संरक्षण गर्दै राष्ट्रिय एकता बलियो बनाउनु पर्छ’ : पूर्वराष्ट्रपति यादव


जनकपुरधाम । प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालको सामाजिक, सांस्कृतिक र जैविक विविधताका साथै विविध सांस्कृतिक चेतनालाई संरक्षण गर्दै राष्ट्रिय एकता बलियो बनाउनुपर्ने बताएका छन् । जनकपुरधाममा शुक्रबार आयोजित पाँचौं अन्तर्राष्ट्रिय साहित्य उत्सवको समुद्घाटन गर्दै प्रथम राष्ट्रपति यादवले भाषा, साहित्य र कलाको संरक्षणले मात्रै देश समृद्ध हुने बताए ।

त्यसैगरी नेपाल र भारतले एकअर्काको फरक सभ्यता, इतिहास, सांस्कृतिक चेतना र विविधतालाई बुझ्न हिन्दी भाषा र साहित्यले सहज बनाएको भन्दै प्रथम राष्ट्रपति यादवले साहित्य उत्सवले त्यसका विविध आयामबारे वृहत छलफल गरी विकासका लागि रणनीति तय गर्ने विश्वास व्यक्त गरे । वरिष्ठ साहित्यकार डा राजेन्द्र विमलले नेपाल र भारतलाई राजनीतिक सीमाले विभाजन गरे पनि हिन्दी भाषा, साहित्य र संस्कृतिले दुई देशको भावनालाई जोड्ने काम गरेको भन्दै यो विशिष्ट सम्बन्धलाई कायम राख्न सबैले सकारात्मक भूमिका खेल्नुपर्ने बताए ।

भारतीय साहित्यकार प्राध्यापक प्रणव चट्टोपाध्याय, डा रामचन्द्र रायले हिन्दी भाषा र समान सांस्कृतिक सभ्यताका कारण नेपाल—भारतबीच रोटिबेटीको सम्बन्ध रहेको धारणा राखे । उनीहरुले नेपाल—भारतबीचको त्यो सम्बन्ध र नेपालमा हिन्दी भाषाको दशा र दिशाबारे चर्चा गरिनुपर्ने धारणा राखे ।

सांसद रेखा यादवले  हिन्दीलाई नेपालमा सम्पर्क भाषाका रुपमा मान्यता दिनुपर्ने र त्यसका लागि आफूले पनि संसदमा आवाज उठाइरहेको बताइन् । महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत श्रीदेवी साहाय मिनाले नेपाल—भारत भाषा र सांस्कृतिक रुपमा अविछिन्न रहेको भन्दै त्यसलाई मजबुत बनाउने दायित्व दुबै देशका सरोकारवालाको रहेको बताइन् । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, नेपाल हिन्दी प्रतिष्ठान जनकपुरधाम अध्यक्ष राघबेन्द्र साहलगायतले नेपाल—भारत सम्बन्धमा हिन्दी भाषाको महत्वका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

नेपाल हिन्दी प्रतिष्ठान जनकपुरधाम र शान्तिनिकेतन हिन्दी प्रचारसभा पश्चिम बङ्गाल भारतको संयुक्त आयोजनामा सुरु भएको साहित्य उत्सवमा सर्वभाषा कवि सम्मेलन, विभिन्न सांस्कृतिक तथा साहित्यिक पक्षमाथि छलफललगायत कार्यक्रम हुने कार्यतालिका छ ।

Ads

सम्बन्धित पोष्टहरू