जनकपुरधाम । विवाह पञ्चमीका अवसरमा जनकपुर बेहुलीझै बनेको छ । आज धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात यसै दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ ।
मंसिर २६ गतेबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं अर्थात आज मुख्य दिन हो । त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको विश्वास गरिन्छ । त्यसैले अहिलेसम्म राम जानकीको डोलालाई स्वंम्बर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन अहिले पनि छ ।
आज दिउँसो साधुशन्तको अगुवाईमा राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा पुगेपछि स्वयम्बर गरिन्छ । राम मन्दिरका महन्थ रामगिरी छोरा पक्ष रामका बुबाको भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताकी बुबा राजा जनकको भूमिकामा हुन्छन् ।
स्वयम्बर पश्चात दुवै डोला नगरपरिक्रमा गरी जानकी मन्दिरमा पुगेपछि साँझदेखि वैदिक परम्परा अनुसार राम र जानकीको विवाह सुरु हुनेछ । यहाँ बनाइएको विवाह मण्डपमा मैथिली परम्परा अनुसार रातभरी रामजानकीको विवाह हुने गर्दछ ।
राम र जानकीको डोल निस्केपछि अवलोकन तथा दर्शन गर्न श्रद्धालुझजनहरुको घुइँचो लाग्ने गर्दछ । स्वयम्बर र बिवाह हेर्न श्रद्धालु भक्तजनले जनकपरधाम खचाखच भरिएको छ । यसैविच विवाहपञ्चमीको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ । प्रदेश सरकारले विवाहपञ्चमीको अवसरमा एक दिनको बिदा २०८० को क्यालेन्डरमा छुट्याएको छ । जुन राजपत्रमा समेत प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्