Ads

सांसदहरुको प्रश्नले घेरिए प्रधानमन्त्री


काठमाडौ\ एनसेलको शेयर खरिद बिक्री प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल सांसदहरुको प्रश्नले घेरिएका छन् । राज्य व्यवस्था समितिको बैठकमा उपस्थित भएका दाहाललाई सांसदहरुले छानविन समितिकै औचित्य माथि प्रश्न गर्ने देखि दाहालकै परिवारसँग जोडिएको चर्चाको बारेमा पनि प्रश्न गरे । यस्तै केहिले भने राज्यका नियामक निकायलाईनै कमजोर बनाएर छानविन समिति बनाईएको भन्दै आलोचना पनि गरे ।
रघु–रविको प्रश्न समिति प्रति
नेकपा एमालेका सांसद रघुजी पन्त र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने छानविन समितिको औचित्य माथिनै प्रश्न गरेका छन् । प्रमुख प्रतिपक्ष एमालेका सांसद पन्तले एनसेलको सेयर खरिदबिक्री छानबिन गर्न गठित छानबिन समितिका संयोजक टंकमणि शर्मा दंगालमाथि प्रश्न गरेका हुन् ।

महालेखा परीक्षक भएका बेला तयार पारिएको प्रतिवेदनमा टंकमणिले विवरण हटाएर एनसेलको पक्षमा काम गरेको भन्दै अहिले उनैलाई छानबिन समिति संयोजक बनाउनु गलत रहेको पन्तको धारणा छ । सांसद पन्तले महालेखा परीक्षक भएका बेला महालेखाको वार्षिक प्रतिवेदनमा नै एनसेलको पक्षमा काम गर्ने व्यक्तिलाई संयोजक बनाएको भन्दै सार्वजनिक रूपमा प्रश्न उठेकाले समिति विघटन गर्नुपर्ने तर्क राखे ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले नियामक निकायलाई नै जवाफदेही बनाउनुपर्ने धारणा राखे । नियामक निकाय दूरसञ्चार प्राधिकरण हुँदाहुँदै एनसेल प्रकरणमा समिति गठन गरिएको विषयमा उनले आपत्ति जनाएका हुन् । राज्य व्यवस्था समितिको छलफलमा उनले भने, ‘आफ्नोमातहतको दूरसञ्चार प्राधिकरण हुँदाहुँदै पनि प्रधानमन्त्रीलाई किन तानियो ? किन समिति बनाइयो ? नियामक निकायलाई किन कमजोर बनाइयो ?’

महालेखाको ५५औँ प्रतिवेदनमा एनसेलको करको विषय हटाउने तत्कालीन महालेखा परीक्षकलाई नै छानबिन समितिको संयोजक बनाइएकोमा पनि सभापति लामिछानेले प्रश्न गरे ।

परिवार जोडिएको विषय
प्रधानमन्त्री दाहाल र सूचना तथा संचार प्रविधिमन्त्री रेखा शर्मा उपस्थित बैठकमा दाहाल एनसेल प्रकरण बारे आफ्नै परिवार जोडिएको विषयले समेत घेरिन पुगे । सत्तारुढ कांग्रेस सांसद अजयकुमार चौरसियाले एनसेलको खरिद र बिक्रीको मूल्यमा ठूलो अन्तर रहेको बताए । उनले प्रश्न गरे, ‘एनसेल खरिदबिक्रीका धेरै कुरा प्रधानमन्त्रीको परिवारसँग जोडिएर आएको छ, छानबिन होस् ।’

यस्तै कांग्रेसकै सांसद अम्बिका बस्नेतले एनसेल खरिदबिक्रीमा नेताको परिवार जोडिएको कुरा जोडिएको सार्वजनिक भइरहेकाले त्यस तहबाट पनि वास्तविकता छानबिन हुनुपर्नेमा जोड दिए भने प्रधानमन्त्रीको परिवारसँग जोडिएपछि गणतन्त्रमाथि प्रहार भयो भनेर बचाउ गर्ने कि छानबिन गर्ने भनेर कांग्रेस सांसद इश्वरी न्यौपानेले बताइन् ।

प्रमुख प्रतिपक्ष एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले एनसेल खरिदका क्रममा प्रधानमन्त्रीको परिवारलाई जोडिएको विषयमा प्रधानमन्त्री दाहालसँग जिज्ञासा राखेका थिए । उनले प्रधानमन्त्रीको परिवारसँगै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई पनि एनसेल खरिदबिक्रीको विषयसँग जोडिएकाले गम्भीर बन्नुपर्ने बताए ।

यसै गरि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा चौधरीले एनसेल खरिदबिक्री प्रकरणमा प्रधानमन्त्रीकी छोरी तथा स्वकीय सचिव गंगा दाहाल र पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको छोरालाई जोडिएको विषयलाई पनि ख्याल गर्नुपर्ने बताइन् ।
प्रधानमन्त्रीको प्रष्टोक्ति
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद बिक्री स्वाभाविक नभएको बताएका छन् । उनले यसमा कहिँ न कहिँ गडबडी भएको आशंका गरेका छन् । सांसदहरुलाई जवाफ दिने क्रममा उनले आफू जलवायु सम्मेलनको क्रममा दुबईमा भएको बेला ऐनसेलको शेयर खरिदबिक्री भएको भन्नेबारे सुनेको र स्वदेश फर्किनासाथ सञ्चार मनत्रालय र नियामक निकायलाई निर्देशन जारी गरेको उनले बताए । यसमा कहिँ न कहिँ गलत छ भन्ने लागेरै छानबिन समिति समेत बनाएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

 

Ads

सम्बन्धित पोष्टहरू