काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले राजनीतिक स्वार्थ पूरा गर्न केही निजी सिमेन्ट उद्योग सञ्चालकहरु हेटौंडा सिमेन्ट उद्योग बन्द गराउने खेलमा लागेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै सचेतक बर्तौलाले यस्तो बताएका हुन् । उनले हेटौंडा सिमेन्ट उद्योग बन्द भए उद्योगले प्रयोग गर्ने चारवटा खानीहरु कब्जा गर्न सकिने उद्देश्यले निजी सिमेन्ट उद्योगहरु माथिल्लो तहको सेटिङमा लागेको तर्क समेत गरे ।
सचेतक बर्तौलाले राजनीतिक स्वार्थमा ठूला निजी उद्योग सञ्चालकहरु माथिल्लो तहमा सेटिङ गरेर मजुवा, भैसे, बोखरे र धादिङको खानी कब्जा गर्ने रणनीति रहेको दाबी गरे ।
राजनीतिक स्वार्थ राखेर सरकारी उद्योगको विकास हुनसक्ने भन्दै बर्तौलाले मन्त्रीकै पार्टीको व्यक्ति पठाए पनि विज्ञताको आधारमा नियुक्ति गर्न माग गरे । उनले सिमेन्ट उद्योगमा विज्ञ नेतृत्व नहुँदा सरकारी उद्योगहरु धरासायी र व्यवसायिक योजना विहीन भएको पनि बताए ।
सम्बन्धित विषयमा विज्ञ मात्रै उद्योगहरुमा नियुक्त गर्न सरकारसँग माग गर्दै उनले अहिले सरकारी उद्योगहरु बन्द हुने स्थितिमा पुग्नुमा स्वार्थ समूह हाबी हुने गरेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्