सर्लाही । उखुको उचित मुल्य र विक्रि भएको उखुको भुक्तानी पाउन किसानहरुले वर्षेनी आन्दोलन गर्नु परेको छ । कहिले सरकारले समर्थन मुल्य नतोक्ने, कहिले ढिला गर्ने र कहिले उद्योगहरुले भुक्तानी नदिने समस्याले किसानहरुले पीडित हुने गरेका छन् ।
अहिले फेरि सर्लालीका किसान आन्दोलित बनेका छन् । चालु समयका लागि उखुको मूल्य निर्धारण र गतवर्ष बिक्री गरेको उखुको अनुदान बापतको रकम भुक्तानीको माग राख्दै सर्लाहीका उखु किसान आन्दोलित भएका हुन् ।
गतवर्ष उखु बिक्री गरेबापत राज्यले दिनुपर्ने प्रति क्विन्टल रु ७० मध्ये हालसम्म प्रति क्विन्टल रु २१ मात्रै भुक्तानी भएको र बाँकी प्रति क्विन्टल रु ४९ अनुदान बापतको रकम एथाशीघ्र भुक्तानी गर्नुपर्ने उनीहरुको माग छ । साथै चालु यामको लागि उखुको मूल्यप्रति क्विन्टल रु सात सय ५० कायम गराउनुपर्ने उनीहरुको भनाइ रहेको छ । मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले उखुका हरिया लाथ्रा प्रदर्शन गरेर गत शनिबारदेखि आन्दोलनका कार्यक्रम जारी रहेको जानकारी दिए।
उनका अनुसार चालु यामका लागि उखुको मूल्य रु सात सय ५० तत्काल तोक्नुपर्ने र गत वर्षको अनुदान बापतको प्रति क्विन्टल रु ७० मध्ये हालसम्म पनि भुक्तानी हुनबाँकी रहेको प्रति क्विन्टल रु ४९ का दरले ५२ करोड रकम तत्काल भुक्तानी गर्नुपर्ने लगायतका माग किसानको छ ।
नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले चालु यामको उखुको प्रति क्विन्टल मूल्य निर्धारण नभएको र अनुदान बापतको राज्यले दिनुपर्ने बाँकी रकम भुक्तानी नभएको गुनासो गरे । उनले यस्तो अवस्थामा जिल्लाका उखु उत्पादक किसानले चिनी उद्योग सञ्चालन नगर्नसमेत आग्रह गरेका बताए।
उनका अनुसार उखुको लागत र चिनीको बिक्री मूल्य अनुसार उखुको मूल्य प्रति क्विन्टल रु सात सय ५० हुनुपर्ने, गतवर्ष उखु बिक्री गरेको अनुदान बापतको बाँकी रु ५२ करोड राज्यले तत्काल भुक्तानी गर्नुपर्ने र कृषि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, उद्योगपति र उखु उत्पादक किसानबीच वार्ता गर्नुपर्ने उनीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्