काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली स्वीकृत गरेको छ । आयोगका अनुसार माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि कूल २०४७ जना मतदाताको नामावली स्वीकृत भएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्रदेशसभा सदस्य ५४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जनागरी कूल २०४७ जनाको नामावली स्वीकृत भएको हो । स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेशसभा सदस्य १ जनाको नाम हटाइ ५४९ जना कायम गरिएको आयोगले जनाएको छ ।
मतदातामध्ये प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १९ रहेकाले प्रदेशसभा सदस्यको कूल मतभार २९.०९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८.४६२ गरी जम्मा ५७.५५९ मतभार रहेको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्