Ads

कांग्रेसको मधेश सम्मेलन सुरु हुँदै


जनकपुर\ नेपाली कांग्रेसको मधेश प्रदेश समितिको पहिलो सम्मेलन आजबाट सुरु हुँदैछ । मधेश प्रदेश समितिको सम्मेलनको समुद्घाटन तिरहुतिया गाछीमा हुने छ भने बन्द शत्र महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा हुने जनाइएको छ ।

सम्मेलनमा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरु सहभागी हुने जनाइएको छ । नेपाली कांग्रेसको यो सम्मेलन मुलुकभरका लागि उदाहरणीय बनाउने योजना मधेश प्रदेश समितिले लिएको दावी गरिएको छ ।

सम्मेलनका बारेमा जानकारी दिँदै नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले पार्टीको प्रथम प्रदेश सम्मेलनले मधेशको भविष्य निर्धारण गर्ने बताए । प्रदेश सरकार गठन भए पनि अधिकार नदिइएका कारण जनतालाई प्रदेश सरकारमाथि अविश्वास बढ्दै गएको र यसलाई स्थापित गर्न अधिकार सम्मत प्रदेश सरकार बनाउन यो सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले दावी गरे ।

मधेश प्रदेश समितिका सभापति तथा मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका यादवले कानुन नबन्दा संविधानले दिएको अधिकारबाट मधेशलाई वञ्चित गरी उपेक्षा गरिएको बताए । ’कांग्रेसको प्रथम सम्मेलन मधेश प्रदेशलाई गरिएको उपेक्षा विरुद्धको दबाबमूलक कार्यक्रम हो,’ यादवले भने, ‘संघीयता विरुद्धका गतिविधि भइरहेको बेला संविधान कार्यान्वयन र संघीयतालाई बलियो बनाउन मधेश प्रदेश सम्मेलन आयोजना गरिएको छ । संघीयताको खाँचो मधेश र मधेशका जनतालाई छ ।’ मधेश प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्नका लागि आफूहरु सहितको टोली प्रधानमन्त्री पुष्पकमल दाहाल संग भेटेर नै आग्रह गर्दा उनले जनताको चाहना अनुसारको नीति तथा कार्यक्रम ल्याउन सुझाएको जानकारी दिए ।

प्रदेश सरकारलाई केन्द्र सरकारले दिने गरेको कर्मचारी आफू खुशी आउने र जाने भएका कारण प्रदेश सरकारले बनाएको योजना समेत कार्यान्वयनमा समस्या खेप्नु परेको उनले दावी गरे । बर्षेनि करोडौं रुपैयाँ फ्रिज हुने गरेका छन् तर, काम गर्ने ठाउँ धेरै भए पनि कार्यान्वयन पक्ष कमजोर देखिएको र त्यो कर्मचारीहरुकै कारण भएको उनको आरोप रहेको छ ।

मधेश प्रदेश सरकारका लागि आउने कर्मचारी समय व्यतीत गर्न आएको विभिन्न समयमा मन्त्रीहरुले आरोप लगाइ रहँदा मधेश प्रदेश सरकारका वर्तमान भौतिक पूर्वाधार मन्त्री यादवले समेत यस्तो आरोप लगाए । तर, उनले यि सम्मेलनवाट वर्तमान समस्याहरु समाधान हुने दावी समेत गरे ।

मधेश प्रदेशले पाएको अधिकार कार्यान्वयन गर्न र बन्न नसकेको कानुन बनाउन दबाब दिने सम्मेलनको मुख्य उद्देश्य रहेको यादवले बताए । कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनको बिहीबार उद्घाटन र शुक्रबार बन्दसत्र हुने प्रदेशका महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठले बताए । ’बन्दसत्रमा प्रदेशका ८ वटै जिल्लाबाट छनोट भएका ८ सय २५ जना प्रदेश प्रतिनिधि सहभागी हुने छन्,’ श्रेष्ठले भने, ‘प्रथम प्रदेश सम्मेलनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनसहित प्रदेश कार्यसमितिले बुधबार पारित गरेको छ ।’

Ads

सम्बन्धित पोष्टहरू