ईलाम\ इलाममा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष गत वर्षको तुलनामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिए ।
उहाँका अनुसार यस वर्ष ४९ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष भने ४९ हजार ७९ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष गत वर्षभन्दा धानको उत्पादकत्वसमेत बढेको छ । यद्यपि गत वर्षभन्दा यस वर्ष धान रोपाइँ हुने क्षेत्रफल भने घटेको छ । गत वर्ष १४ हजार आठ सय १५ हेक्टर क्षेत्रमा धान लगाइएकामा यस वर्ष १४ हजार आठ सय १० हेक्टर क्षेत्रमा मात्र धान लगाइएको थियो ।
गत वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ३१ मेट्रिक टन थियो । यस वर्ष बढेर प्रतिहेक्टर तीन दशमलव ३२ मेट्रिक टन पुगेको छ । परम्परागत कृषि प्रणालीमा सुधार गरी आधुनिक कृषि प्रणालीको प्रयोगसँगै मल, बीउबिजन र सिँचाइको उचित व्यवस्थापनले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्रका प्रमुख बर्देवाले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्