Ads

एपीसीगको अध्यक्षमा अधिवक्ता बाबुराम अर्याल निर्वाचित


काठमाडौं। एसिया प्यासिफिक स्कुल अफ इन्टरनेट गभर्नेन्सको अध्यक्षमा अधिवक्ता बाबुराम अर्याल निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा अध्यक्ष पदका अर्का उमेदवार पाकिस्तानका मुबसिर सरगनाकोभन्दा बढी मत प्राप्त गरेर अर्याल अध्यक्ष निर्वाचित भएका हुन्।

दुई वर्ष कार्यकाल रहने सञ्चालक समितिको रिक्त अध्यक्ष र दुई उपाध्यक्ष पदमा निर्वाचन भएको थियो । जम्मा पाँच जनाको सञ्चालक समिति रहने एपीसीगको सचिव पदमा श्रीलङ्का कि सागरिका विक्रमशेकरा र कोषाध्यक्ष पदमा बङ्गलादेशका शाह जहिदुर रहमान यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

एसिया प्यासिफिक स्कुल अफ इन्टरनेट गभर्नेन्सले एसिया र प्रशान्त क्षेत्रमा इन्टरनेटको विकास र नीतिगत व्यवस्था, प्रविधीमा पहुँच, डिजिटल सुरक्षा र साक्षरता जस्ता विषयहरूमा क्षमता विकासको काम गर्दछ। संस्थामा एसिया प्यासेफिक क्षेत्रका देशहरूबाट बहुसाझेदारी अवधारणामा सदश्यहरू आबद्ध हुन्छन्।

अध्यक्षमा निर्वाचित अर्याल साइबर कानून, साइबर सुरक्षा, दूरसञ्चार कानून तथा मिडिया कानूनको क्षेत्रमा लामो समयदेखि कार्यरत कानून व्यवसायी हुन । उनले नेपाल तथा एसिया प्यासिफिकको क्षेत्रीय स्तरमा इन्टरनेट गभर्नेन्सका मुद्दाहरूमा लामो समयदेखि योगदान गर्दै आएका छन् ।

हाल उनी डिजिटल फ्रिडम कोलिसनको अध्यक्ष र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको संस्थापक तथा प्रमुख कार्यकारी भूमिकामा रही इन्टरनेटमा रहेका नागरिकको समान पहुँच, बालबालिकाका लागि अनलाइन सुरक्षा, डिजिटल साक्षरता तथा डिजिटल युगमा मानव अधिकारका विषयहरूमा स्थानीय तथा विश्वव्यापी रूपमा क्षमता विकास तथा वकालतमा क्रियाशील छन् ।

Ads

सम्बन्धित पोष्टहरू