काठमाडाैँ । सर्वोच्च अदालतबाट ज्यान मुद्दामा सफाइ पाएर सांसद पदको निलम्बनबाट फुकुवा पाएका एमाले सांसद लक्ष्मी महतो कोइरी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
सोमबार बिहान ओली निवास बालकोट पुगेर सांसद कोइरीले अध्यक्ष ओलीलाई भेटेका हुन्। सांसद कोइरीले अध्यक्ष ओलीको हातबाट सगुनसमेत लिएका छन्।
कोइरीमाथि मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप लागेपछि त्यसको मुद्दा चलेकै समयमा महोत्तरी–१ बाट उनी नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए। निर्वाचित भएर सांसदको शपथ लिए पनि पछि सदनमा प्रश्न उठेपछि उनको सांसद पद निलम्बन भएको थियो।
मंसिर २८ गते सर्वोच्चले उनलाई ज्यान मुद्दामा सफाइ दियो। अदालतबाट सफाइ पाएसँगै उनले संसद् सचिवालयमा आफ्नो निलम्बन फुकुवा गर्न निवेदन दिएका थिए। उक्त निवेदन र अदालतको पत्रका आधारमा सांसद कोइरीलाई संसद् सचिवालयले निलम्बन फुकुवा गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस्