दमक\ दमक (३ स्थित हम्सेदुम्से सामुदायिक बन उपभोक्ता समूहले वन क्षेत्र भित्र फोहोरमैलाको ल्याण्डफिल्ड गर्ने नगरपालिकाको कार्य प्रति आपत्ति जनाएको छ । समूहले नगरपालिकाले फोहोर व्यवस्थापन गरिआएको वन क्षेत्रमा पत्रकार सम्मेलन गरि अव्यस्थित ढंगले फोहोर फ्याल्दा वातावरणीय मात्र नभएर मानव स्वास्थ्यमा नै गंभीर असर पर्ने भन्दै वैकिल्पक उपाय खोज्न सुझाव दिएको हो ।
पत्रकार सम्मेलनमा समूहका अध्यक्ष चन्द्रप्रसाद गुरागाईले नगरपालिकाले वन समूहसंग कुनै समन्वय नै नगरि दमकको फोहोर वन क्षेत्र भित्र फाल्ने कार्य गलत भएको बताए । वन समूहको ३ नम्बर व्लकमा नगरपालिकाले दमक चौक,वजारमा दैनिक निस्किने फोहोर खाल्डो खनेर पूदै आएको छ । मानव बस्ती नजिकै बन भित्र यसरी डम्पिङ गर्दा त्यसले स्थानीयलाई प्रतिकुल असर पुरयाँएको समूहको बुझाई छ ।
अध्यक्ष गुरागाईले बनका खाली भूभागमा वृक्षरोपण गर्ने योजना अघि सारिएको बेला नगरपालिकाले जर्वजस्ती फोहोर थुपार्ने काम उपयुक्त नभएको जिकीर गरे । उनले बन उपभोक्ता समूहले वन भित्र फोहोर फाल्ने दिने अधिकार आफूहरुसंग नभएकाले त्यसतर्फ स्थानीय सरकारको ध्यानाकर्षण समेत गराईएको उल्लेख गरे ।
दमक सव डिभीजन कार्यालय दमकका अधिकृत एकराज दाहालका अनुसार नगरपालिकाले कानुनी प्रकृया पूरा नगरि एकतर्फी रुपमा वन भित्र फोहोर फालिआएको छ । त्यसबारे हामीलाई कुनै जानकारी नआएको उनको भनाई छ । उनले बन भित्र जथाभावी फोहोर फाल्ने कार्यले वातावरणीय असर निम्त्याउने बताए । वन भित्र फोहोर फाल्ने कार्यलाई निरुत्साहित गरि पर्यावरण संरक्षणमा ध्यान दिन लाग्नु पर्ने उनले सुझाए । उनले भने, –‘ फोहोर मैलालाई योजनावद्ध व्यवस्थापन गर्न बैकल्पिक उपायहरु अवलम्बन गर्न जरुरी भईसकेको छ ,त्यसतर्फ स्थानीय सरकार गंभीर हुनुपर्छ ’ नगरपालिकाले पहिले गरिआएको डम्पिङ भरिएपछि फोहोर फाल्ने ठाँउ नहुदाँ फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहोर उठाउन नै छाडेको थियो ।
तर, नगरपालिकाले सर्वपक्षीय भेला गरि फोहोरको दिगो समाधान गर्न नगर प्रमुख रामकुमार थापाको संयोजकत्वमा समिति गठन गरि आवश्यक पहल भईरहेको जनाएको छ । बैकिल्पक उपाय ननिस्कएसम्म नगरपालिकाले पूरानो डम्पिङ नजिकै सडक पश्चिम वन क्षेत्रमा अस्थायी डम्पिङ बनाएर फोहोर व्यवस्थापन गरिदैआएको नगरपालिकाको वातावरण शाखा प्रमुख द्रोर्ण थापाले बताए ।
पत्रकार सम्मेलनमा समूहका पदाधिकारी,सदस्यहरु, वन उपभोक्ताहरु लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्