Ads

अलैंचीले बढाएको आशा


झापा\ खोल्सीको कालो सुन भनिने प्रमुख नगदे बाली अलैचीको निर्यातले वैदेशिक व्यापारमा केहि आशा बढाएको छ । अधिकांश वस्तुको निर्यात घटिरहेका बेला स्वदेशमै उत्पादन हुने अलैँचीको निर्यात वृद्धि हुनुले आयात निर्यातमा आशा बढेको हो। चालु आर्थिक वर्षको पाँच महिनामा करिब चार अर्ब रुपियाँ बराबरको अलैँची निर्यात भएको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि मङ्सिरसम्म तीन अर्ब ९८ करोड ६१ लाख पाँच हजार रुपियाँ बराबरको २३ लाख ७४ हजार ११० केजी अलैँची निर्यात भएको छ । गत आवको सोही अवधिमा दुई अर्ब ७२ करोड ८२ लाख ६५ हजार रुपियाँ बराबरको ११ लाख ३४ हजार १२७ केजी निर्यात भएको छ । गत वर्षको तुलनामा पाँच महिनामा एक अर्ब २६ करोड रुपियाँले अलैँची निर्यातमा वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गएकाले निर्यातमा उलेख्य वृद्धि भएको हो। व्यापारविज्ञ रविशङ्कर सैँजूले स्वदेशमा उत्पादित अलैँची अन्य देशको भन्दा उच्च गुणस्तरको भएकाले पनि निर्यात बढ्दै गएको जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग उच्च छ, नेपालमा प्याकेजिङ र ग्रेडिङ गरेर पठाउन सके वार्षिक १० अर्ब रुपियाँको निर्यात गर्न सकिने उनी बताउँछन् ।

सबैभन्दा धेरै भारतमा अलैँची निर्यात हुने गरेको छ । मुलुकमा उत्पादित अलैँची छिमेकी मुलुक भारतमा ठुलो परिणाममा निर्यात हुने गरेको छ । भारतबाट व्यवसायीले अन्य देशमा समेत अलैँची निर्यात गर्ने गरेका छन् ।

विभागको तथ्याङ्क अनुसार आव २०७९\८० मा आठ अर्ब २५ करोड ५९ लाख ९२ हजार रुपियाँ बराबरको ९९ लाख ४६ हजार २६२ केजी अलैँची निर्यात भएको हो। आव २०७८\७९ मा चार अर्ब ७७ करोड ८९ लाख ८९ हजार रुपियाँ बराबरको ५२ लाख ९७ हजार ४४३ किलो अलैँची निर्यात भएको थियो । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी अलैँचीको माग बढेसँगै वार्षिक रूपमा अलैँची निर्यात बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ। नेपाली अलैँची निकासी हुने ठुलो बजार भनेको भारत नै हो। अलैँची औषधी र मसलाका रूपमा प्रयोग गर्ने गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गए पनि खेती गर्ने क्षेत्रफल भने घट्दै गएको छ ।

वैदेशिक व्यापार घाटा कम गर्न योगदान पु¥याउने अलैँची नेपालका ४३ भन्दा बढी जिल्लामा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८\७९ मा १५ हजार ९७५ हेक्टर क्षेत्रफलमा आठ हजार ७१४ मेट्रिक टन अलैँची उत्पादन भएको छ । यस्तै आव २०७७\७८ मा १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा आठ हजार २८९ मेट्रिक टन अलैँची उत्पादन भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू