काठमाडौ\ राष्ट्रिय सभामा रिक्त हुने सदस्यको निर्वाचन मिति नजिकिँदै जाँदा मुख्य दलहरुमा आकांक्षीहरुको ताँतीनै देखिएको छ । खास गरि सत्ता साझेदार मुख्य दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र भित्र आकांक्षीहरुको संख्या उच्च हुँदा उनीहरुको व्यवस्थापन र संवोधन चुनौतीपूर्ण देखिएको छ ।
निर्वाचनमा कांग्रेसले ७ देखि ८ र माओवादीले ५ देखि ६, नेकपा एसले २ वा ३ तथा जसपा र नागरिक उन्मुक्ति पार्टीले १\१ सिट पाउने सत्ता गठबन्धनमा लगभग सहमति भएको छ। सोही आधारमा राष्ट्रिय सभा सदस्यको उम्मेदवारको लागि दलहरुमा रस्साकस्सी छ।
कांग्रेसमा को को ?
नेपाली कांग्रेस भित्र मात्र दुई दर्जन भन्दा बढि आकांक्षी देखिएका छन् । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश समितिले केन्द्रीय कार्यालयमा पठाउने उम्मेदवार आकांक्षीको सूची तयार पार्दा २५ केन्द्रीय सदस्यको नाम आएको छ । कोशी र बागमतीबाट ८÷८ जना, गण्डकीबाट ५, लुम्बिनीबाट ४ जना र कर्णालीबाट एक जना केन्द्रीय सदस्य राष्ट्रियसभा सदस्य उम्मेदवारको आकांक्षी देखिएका छन् । सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशबाट सिफारिस भई सकेको छैन ।
कोशीबाट केन्द्रीय नेताहरु कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल, डिला संग्रौला, सुजाता कोइराला, तारामान गुरुङ, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइरालाको नाम सिफारिस भएको छ । नेताहरु महेश आचार्य र गुरुराज घिमिरेको नाम प्रदेशबाट सिफारिस गरिएको छ । कोशीबाट पूर्व केन्द्रीय सदस्यमा पवन सारडा, रामकृष्ण भट्टराई, बाबुराम बस्नेत, हसन अन्सारी लगायतको नाम पनि राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरिने प्रदेश समितिका एक नेताले बताए । गत आम निर्वाचनमा झापा–३ बाट पराजित भएका सिटौला अध्यक्ष हुने आकांक्षामा छन् ।
कोशीमा अन्य र महिला दुई क्लष्टरका लागि चुनाव हुँदैछ । सिटौलालाई अन्यबाट पहिलो नम्बरमा र सुजातालाई महिलाबाट पहिलो नम्बरमा राखेर नाम सिफारिस गरिने जनाईएको छ । बागमती प्रदेशबाट केन्द्रीय सदस्य मदन अमात्य, जिपछिरिङ लामा, दिलमान पाख्रिन, हरिशरण नेपाली, जितजङ बस्नेत, गंगालक्ष्मी अवाल, राधा घले र मदनकृष्ण श्रेष्ठ उम्मेदारको आकांक्षी सूचीमा छन् ।
काठमाडौं जिल्ला सभापति सबुज बानियाँ, काठमाडौं महानगरका सभापति निलकाजी शाक्यको नाम समेत सिफारिस भएको छ । बागमतीबाट पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल र चिकित्सक संघका पूर्वअध्यक्ष केदारनरसिंह केसीको नाम पनि सिफारिस भएको छ । १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित बाबुकृष्ण सापकोटाको नाम पनि बागमतीबाट सिफारिस भएको छ ।
गण्डकीबाट केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, चीनकाजी श्रेष्ठ, कृष्णचन्द्र नेपाली पोखरेल, धु्रव वाग्ले, अब्दुल सतारको नाम सिफारिस गरिएको छ । पूर्वसभामुख तारानाथ रानाभाट, केन्द्रीय सहमहामन्त्रीका उम्मेदवार देवराज चालिसे लगायतको नाम गण्डकीबाट पठाइएको छ ।
लुम्बिनीबाट केन्द्रीय सदस्यहरु गोविन्द पोखरेल, पुष्पा भुसाल, भरत शाह र चन्द्र केसीको नाम पठाइएको छ । पोखरेलले गत आम चुनावमा निर्वाचनमा प्युठानमा टिकट पाएनन् । भुसाल अर्घाखाँचीमा पराजित भएकी हुन् । सार्वजनिक लेखा समितिका पूर्व सभापति शाह गत आम निर्वाचनमा रुपन्देही–५ मा पराजित भएका थिए ।
कर्णालीबाट केन्द्रीय सदस्य मानबहादुर नेपालीको नाम कर्णालीबाट सिफारिस भएको छ । प्रदेश सभापतिमा पराजित भूपेन्द्रजंग शाहीको नाम प्रदेश समितिले सिफारिस गरेको छ । जुम्ला जिल्लाबाट नाम सिफारिस भएर आएपनि आफ्नो नाम सिफारिस नगरेको प्रदेश सभापति ललितजंग शाहीले बताए ।
राष्ट्रपतिले मनोनित गर्ने एक बाहेकका १९ जना राष्ट्रिय सभाका सांसदका लागि ११ माघमा निर्वाचन हुँदैछ । २३ पुसका लागि उम्मेदवारी दर्ताको कार्यतालिका निर्वाचन आयोगले बनाएको छ ।
माओवादी भित्र ताँति
सत्ताको नेतृत्व गरि रहेको नेकपा माओवादी केन्द्रमा पनि राष्ट्रिय सभा सदस्य हुनेहरुको ताँति देखिएको छ । जस मध्ये केहि आकांक्षीहरुले लबिङ गरिरहेका छन् भने केहीले आफू आकांक्षी नहुँदा पनि चर्चा भएको भन्दै प्रष्टीकरण दिएका छन्। सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत चर्चा हुन थालेपछि माओवादी महासचिव देव गुरुङ, उपाध्यक्ष पम्फा भूसाल, उपमहासचिवहरु गिरीराजमणि पोखरेल,मातृका यादव तथा सचिव चक्रपाणि खनाल लगायतले आफू आकांक्षी नभएको प्रष्टीकरण दिएका हुन्।
तर केहिले आकांक्षा नरहेको सार्वजनिक रुपमा बताए पनि पार्टी अध्यक्ष र नेतृत्वलाई भने दर्विलोसँग दवाव समेत दिई रहेका छन् । आकांक्षीको लर्को लागेका कारण प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब थेग्न निकै मुश्किल पर्ने देखिएको छ। सचिवहरु लिलामणि पोखरेल, हरिवोल गजुरेल, गणेश शाह र हितमान शाक्य पनि राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारको लाइनमा छन्।
प्रतिक्रिया दिनुहोस्