Ads

जनताको रगत पसिनाले बनेको संविधान हो, यसमा कसैले आँच पुर्‍याउन सक्दैन: राष्ट्रपति पौडेल


काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको आन्दोलन उठाउँदाकै आस्थाबाट अहिले पनि आफू अटलरुपले निर्देशित भएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औधोगिक, व्यापार मेला एवम् सातौं बागलुङ महोत्सव २०८० को बुधबार बागलुङमा उदघाटन गर्दै राष्ट्रपति पौडेलले भने, ‘जुन आस्था र विश्वास बोकेर २०४६ सालमा धौलागिरिमा आन्दोलन उठाउन आएको थिएँ, त्यो आस्था र विश्वासबाट म आजपर्यन्त अटलरुपले निर्देशित छु ।’

उनले भने, ‘आजको यो संविधान त्यसरीनै कठोर मेहनत र नेपाली जनताको रगत पसिनाले लेखिएको छ । यसरी जनताले बनाएको नेपालको संविधानलाई कसैले आँच पुर्‍याउन सक्ने छैन भनेर पनि विश्वास दिलाउन चाहन्छु ।’

आत्मनिर्भर अर्थतन्त्रको आधार निर्माण गर्न, स्थानीय सम्भावना, उत्पादन र रोजगारीका अवसर वृद्धि गरी आयात प्रतिस्थापन तथा निर्यातलाई प्रोत्साहन गर्न जरुरी रहेको राष्ट्रपति पौडेलले बताए । उनले भने, ‘महोत्सवले क्रेता र विक्रेता एकै ठाउँमा जम्मा गर्ने भएको हुँदा बस्तुको उत्पादन, बजार, माग तथा आपूर्तिको साथै स्थानीय प्रविधि र रोजगारीलाई बढावा दिन्छ, मैले यो महोत्सवले यसमा सफलता प्राप्त गर्ने विश्वास लिएको छु ।’

स्थानीयस्तरमा परम्परागत रूपमा सञ्चालित उद्योगहरूको प्रतिस्पर्धामक क्षमता अभिवृद्धि गर्न मेशिनरी प्रतिस्थापन प्रविधि सुधार तथा पूर्वाधार निर्माणका लागि सहुलीयतपूर्ण कर्जाको आवश्यकतामा जोड दिँदै उनले यसका लागि स्थानीय र प्रदेश सरकारले स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु र साना उद्योगलाई बजार प्रवद्र्धनका कार्यक्रम दिन सक्नुपर्ने बताए ।

‘मैले भन्नै पर्दछ, हरित अर्थतन्त्रको मान्यताअनुसार वातावरण संरक्षण र जलवायु परिर्वतन अनुकूल तथा न्यूनीकरणलाई स्थानीय स्तरबाटै निजी र सरकारी क्षेत्रले ध्यान दिनुपर्दछ’, राष्ट्रपति पौडेलले भने, ‘म यहाँ निजी क्षेत्रको तर्फबाट उपस्थित हुनुभएका अगुवाहरूलाई के भन्न चाहन्छु भने यी देखिएका हिमशृङ्खला, हामीले होस पुर्‍याएनौँ भने नरहन पनि सक्दछ ।’

राष्ट्रपति पौडेलले गण्डकी प्रदेशलाई चीन र भारतसँग जोड़नका लागि त्रिवेणीसम्म पुर्‍याउन आफूले संविधानसभामा निकै मेहेनत गर्नुपरेको स्मरण गर्दे भने, ‘कालीगण्डकी कोरिडोर सम्पन्न गर्न, मध्य पहाड़ी लोकमार्ग निर्माण कार्य पूरा गर्न भइरहेका बीच बीचका अवरोध हटाउन प्रतिनिधिसभामा तपाईहरूले संसदमा आावाज उठाउनुहोस् म तपाइँहरूको साथमा छु ।’

राष्ट्रपति पौडेलले त्यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रूपमा स्थापित गर्न सकिने प्रचुर संभावना रहेको बताउँदै यस ठाँउको भौगोलिक विविधता र विकटतालाई पृथक र नवीन पर्यटकीय थलोको रुपमा विकास गरी नयाँ पुस्तालाई यस क्षेत्र र नेपाल भ्रमणको लागि आकर्षित गर्नुपर्ने आजको आवश्यकता भएको बताए ।

प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा पहाडी तथा हिमाली क्षेत्रमा मनोरञ्जनात्मक तथा साहसिक पर्यटनका लागि हिलस्टेसनहरू विकास गर्न आवश्यक छ भन्दै उनले सांस्कृतिक, धार्मिक, साहसिक, कृषि, स्वास्थ्य तथा खेल पर्यटक आकर्षित गर्दै यस क्षेत्रको मौलिक संस्कृति संरक्षणमा महोत्सवले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

Ads

सम्बन्धित पोष्टहरू