झापा, ताप्लेजुङमा उत्पादन भएको किवी फल जिल्लाबाहिर निर्यात हुँदा किसान खुसी भएका छन्। जिल्लाबाहिर झापा, काठमाडौँ लगायतका ठाउँमा किवी निर्यात हुन थालेपछि बजारको अभाव खेप्दै आएका किसान खुसी भएका हुन्।
पाथिभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेका स्थानीय सागर इजम लिम्बूका अनुसार यो वर्ष यहाँ उत्पादन भएको किवी झापाको दमक र काठमाडौँ बजारमा निर्यात भएको छ। यो तिरिङ्गे गाउँमा उत्पादन भएको एक हजार पाँच सय किलोग्राम अर्थात् १५ क्विन्टल बढी किवी बाहिर निर्यात भएको लिम्बूले जानकारी दिए ।
उनका अनुसार गत वर्ष करिब २५ क्विन्टल किवी जिल्ला बाहिर निर्यात भएको थियो।यसवर्ष असिनाले क्षति गरेका कारण किवी उत्पादनमा असर पुगेको र उत्पादित किवी का लागि बजार अभाव नभएको उनले बताए। उनका अनुसार खरिदकर्ताले बोटमै प्रतिकिलोग्राम एक सय रुपियाँसम्म मूल्य लगाएर किवी खरिद गरेका छन्। हाल खरिदकर्ताको मागअनुसार किवी दिन नसकेको पनि स्थानीय किसानले बताएका छन्।
एभोकाडो खेतीप्रति किसानको आकर्षण
इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माइजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै एभोकाडो लगाएका छन् । “तीन वर्ष भएका बिरुवाले सामान्य उत्पादन दिन सुरु गरेको छ, दुई वर्ष पुराना बिरुवा धेरै छन्, गत वर्ष लगाएका बिरुवा भर्खर सर्दैछन्”, उनले भने ।
प्रतिक्रिया दिनुहोस्