Ads

पेट्रोलियम पदार्थ अन्वेषणको कामले गति लियो


दैलेख, दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणको कामले गति लिएको छ । हाल यहाँ पेट्रोलियम पदार्थ उत्खननको अन्तिम ड्रिलिङको काम जारी छ । भैरवी गाउँपालिका–१ स्थित शिरस्थान मन्दिरस्थित ज्वाला बलिरहेको क्षेत्रबाट उत्तरपूर्वी क्षेत्रमा पर्ने जलजलेमा अन्तिम ड्रिलिङको तयारी थालिएको छ ।

ड्रिलिङका लागि सय बाई सय मिटरको खुला स्थान तयार गरिँदै छ । मेसिन जडान गर्न ठाउँ निर्माण भइरहेको छ । नेपाल सरकार खानी तथा भूगर्भ विभागका तर्फबाट निर्माण स्थालमै खटिनुभएका पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितका अनुसार एक महिनाभित्र मेसिन जडान गर्न सकिए करिब चार किलोमिटर ड्रिलिङ गरिनेछ । तोकिएकै समयमा सडक पूर्वाधार तयार भई उपकरण जडान गर्न सकिए चार महिनाभित्र ड्रिलिङ कार्य सम्पन्न हुनेछ ।

यसअघि करिब तीन सय किलोमिटरको परिधिमा रही तीन हजारभन्दा बढी स्थानमा ड्रिलिङ गरी विस्फोटको माध्यमबाट तरङ्ग पठाई गरिने एक किसिमको धर्तीको अध्ययनबाट आएको जानकारी प्रशोधन गरी खानीको भण्डारण क्षेत्रबारे निक्र्योल गरी ड्रिलिङका लागि स्थान तय गरिएको छ । भैरवी गाउँपालिका–१ स्थित जलजलेमा कुल २८ घरधुरीको ४५ रोपनी जग्गा अधिग्रहणको काम सम्पन्न भएपछि पूर्वाधार निर्माणले गति पनि लिएको छ । मुआब्जामा न्यायोचित मूल्य निर्धारण नभएको स्थानीयको गुनासोलाई सम्बोधन गरेपछि जग्गा पास गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू