दमक \ झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको चिसापानी पञ्चमीसम्म जोड्ने दमक–चिसापानी सडक निर्माण शुरु भएको तीन दशक बित्यो । तर पनि ३३ किलोमिटरको यो सडक अझै पूरा हुन सकेको छैन । केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला कालोपत्रे शुरु भए पनि सो समेत पूरा नहुँदा स्थानीय निराश भएका छन् ।
कालोपत्रेका लागि ठेक्का लागेको ५ वर्ष बितिसकेको छ । ठेक्काको म्याद पटकपटक थपिँदा समेत काम हुन नसक्दा स्थानीय निराश बन्दै आएका छन् । अब भने सडक निर्माणले गति लिने आशा स्थानीयमा पलाएको छ । सडक कालोपत्रे गर्ने ठेक्का लिएका निर्माण व्यावसायीले बीचैमा छाडेर लथालिङ्ग बनाएपछि यो सडकको भविष्य अन्यौलमा परेको थियो ।
सरोकारवालाहरुको चासो पछि तल्लो खण्डको निर्माण व्यवसायी (महालक्ष्मी–किरातेश्वर जेभी) ले तत्काल काम सुरु गरेर आउँदो बैशाखसम्ममा काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । यस्तै मााथिल्लो दुई खण्डको निर्माणको जिम्मा लिएको लुम्बिनी–गणपति जेभीले अर्को पुस सम्ममा काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।
केही प्राविधिक र कानुनी विषयहरु समस्याका रुपमा उठान भएकाले त्यसलाई सडक विभाग र भौतिक पूर्वाधार मन्त्रालयमा पठाएर समाधान गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् । पहिलो खण्डअन्तरगत दमकको पहिलो बिन्दुबाट सात किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का महालक्ष्मी–किरातेश्वर जेभीले ३० महिनाभित्र सक्नेगरी २०७५ साल साउनमा सम्झौता गरेको थियो ।
रु २२ करोड ५९ लाख ६४ हजारमा ठेक्का लिए पनि काम पूरा भएको छैन । यस्तै दोस्रो खण्ड १५ किलोमिटर सडक रु ५४ करोड ४४ लाख ८७ हजारमा र तेस्रो खण्ड ११ किलोमिटर सडक रु ५९ करोड १५ लाख ३५ हजारमा निर्माणको ठेक्का लुम्बिनी–गणपति जेभीले पाएको थियो । दोस्रो खण्डमा करिब ६२ प्रतिशत र तेस्रो खण्डमा २८ प्रतिशत काम भएको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर सुधिर कुमार झाले जानकारी दिए । समग्रमा ३३ किलोमिटर सडकमा ५० प्रतिशत मात्र काम भएको छ ।
सडक निर्माण सुरु भएको तीन दशक बितिसक्दा समेत सडक निर्माणको काम सम्पन्न नहुँदा स्थानीयले चर्को विरोध जनाउँदै आएका छन् । यस सडकले झापाको केही खण्डमात्र छुन्छ। बाँकी इलाम र पाँचथरको भूभागमा पर्छ। त्यसैले यो सडकप्रति तराइका बासिन्दा भन्दा पनि पहाडका बासिन्दाको व्यघ्र प्रतीक्षा छ। यस सडकले इलाम र पाँचथरलाई छोटो दूरीबाट झापासँग जोड्ने भएकाले पहाडी जिल्लाहरूको आर्थिक विकास र जनजीवनको सहजताका लागि महत्वपूर्ण हुने स्थानीयले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्