Ads

के निश्कर्ष निकाल्छ मुख्यमन्त्रीहरुको बैठकले ?


हेटौडा\ संघीय सरकारले आफुहरुको अधिकार नियन्त्रण गरेको भन्दै आक्रोश व्यक्त गर्दै आएका मुख्यमन्त्रीहरुको बैठक आज हेटौडामा सकिदैँछ । संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न बुधवारबाट हेटौँडामा बैठक शुरु भएको हो । तहगत अधिकारको कार्यविस्तृतिकरण सम्बन्धी संगोष्ठी भनिएको कार्यक्रम साझा धारणा बनाएर सकिन लागेको हो ।

गोष्ठीमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्रीहरू बिहीबारदेखि हेटौँडामा छन् । हेटौँडा आई पुगेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र मन्त्रीहरूले स्वागत गरेका थिए ।

हेटौँडामा बिहीबार भेला भएका सातै प्रदेशका मुख्यमन्त्री, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घका बिचमा प्रदेश र स्थानीय सरकारको अधिकारका बारेमा प्रारम्भिक छलफल भएको छ ।

छलफलमा संविधानमा संविधानमा व्यवस्था भएको प्रदेश र स्थानीय सरकारको अधिकारका बाँडफाँडका बारेमा साझा धारणा बनाएर जाने सहमति बनेको छ । शुक्रवार संविधान कार्यान्वयनमा समस्या देखिएको समस्याका बारे छलफल र संविधान कार्यान्वयनका लागि आवश्यक सुझाव दिने उद्देश्यसहित सातै प्रदेशका मुख्यमन्त्रीहरूसहितको सहभागितामा तहगत अधिकारको कार्यविस्तृतिकरण सम्बन्धी संगोष्ठी आयोजना गरिएको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले जनाएको छ ।

बिहीबार भएको कार्यक्रममा तीनै तहका सरकारको साझा अधिकारको विस्तृतीकरण र कानुन निर्माण प्रक्रिया, वित्त÷आर्थिक विकास क्षेत्र, सेवा क्षेत्र र पूर्वाधार क्षेत्रका कार्यपत्र प्रस्तुत र छलफल भएको थियो । आज शुक्रवार वन वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुतसँगै छलफल गरी साझा प्रतिवेदन अनुमोदन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा सातै प्रदेशका प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल नगरपालिका सङ्घका पदाधिकारीहरूको सहभागिता रहेको छ । मुख्यमन्त्री कार्यालयका अनुसार छलफलपछि शुक्रवार साझा प्रतिवेदनसमेत अनुमोदन गर्ने कार्यक्रम रहेको छ । संघले अधिकार नदिएको र कानुन पनि नबनाएको भन्दै प्रदेश सरकारले संघीय सरकारको विरोध गर्दै आएको छ । यहि पृष्ठभुमीमा मुख्यमन्त्रीहरुको भेला भएको हो ।

Ads

सम्बन्धित पोष्टहरू