काठमाडाैँ । सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको मृत्यु हुने गरी भएको घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
शुक्रबार गृह मन्त्रालयले बालकुमारी घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य रहेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहार कमल गिरीले जानकारी दिए ।
समितिलाई सात दिनभित्र बालकुमारी घटनाबारे छानबिन गरी प्रतिवेदन बुझाउन समयावधि दिइएको छ ।
यसअघि कोरिया जान रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि बालकुमारीमा प्रदर्शनमा उत्रिएका युवाहरू र प्रहरीबीच झडपमा हुँदा घाइते भएका २३ वर्षीय सुजन राउतको किष्ट अस्पताल र वीरेन्द्र शाहको पाटन अस्पतालमा मृत्यु भएको प्रहरी प्रवक्ता कुवेर कठायतले जानकारी दिए ।
प्रदर्शनमा उत्रिएका युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि बालकुमारी तनावग्रस्त बनेको थियो । आन्दोलनमा उत्रिएका युवाहरूले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनीसँगै सडक अवरुद्ध पारेपछि प्रहरीले आश्रुग्याससमेत प्रहार गरेको थियो ।
प्रदर्शनमा उत्रिएका युवाहरूको समूहलाई तितरवितर पार्न प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो । ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार स्थितिलाई नियन्त्रणमा लिँदा खोज्दा प्रहरी र प्रदर्शनमा उत्रिएकाहरूबीच झडप भएको थियो ।
प्रहरीका अनुसार मन्त्री ज्वालाको गाडीलाई घेरेर प्रदर्शनकारीले सुरुमा हावा खुस्काएका थिए । त्यसपछि प्रदर्शनकारीले मन्त्री ज्वालाको गाडीमा आगो लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्